कोरोना रोकथाममा काम गर्ने बेला मुख्यमन्त्रीले बुटवल छाडे, काठमाडौंमा बास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पार्टीको आन्तरिक विवाद मिलाउन काठमाडौं आएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन रक्षा गर्ने बेला मुख्यमन्त्री पोखरेल कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको हल्लिदै गरेको कुर्सी बचाउन सक्रिय भएका हुन् ।

प्रदेश ५ को सबै काम छाडेर पोखरेल विगत तीन–चार दिनदेखि काठमाडौंमा अड्डा जामाएर बसेका छन् ।

आफ्नै गृहजिल्ला दाङमा कोरोना भाइरसको संक्रमणविरुद्धका स्वास्थ्य सामग्रीहरू पु¥याउन नसकेको भनेर आलोचना भइरहेको छ । प्रदेश पाँचका जिल्लाहरूमा कोरोनाविरुद्धको स्वास्थ्य सामग्री पु¥याउन नसकेको भनेर मुख्यमन्त्री पोखरेलको आलोचना भइरहेको छ ।

दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ अस्पतालमा आईसीयु माग गरेपनि पोखरेलले सो माग पनि पूरा गरिदिन सकेका छैनन् ।

बर्दिया जिल्लाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बर्दियाका जनता त्रसित बनेका बेला उनीहरूको स्वास्थ्य रक्षाका लागि निर्देशन दिएर स्वास्थ्य सामग्री पठाउने बेला मुख्यमन्त्री भने आफ्नो प्रदेश छाडेर काठमाडौंमा छन् ।

पोखरेलले प्रदेश ५ का जनताको जीवन रक्षालाई भन्दा पनि आफ्नो पार्टीको विवाद र ओलीको धरमराउँदै गरेको प्रधानमन्त्री पदको कुर्सीको मोह धेरै भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

ओलीको कुर्सी बचाउनका लागि पोखरेलले आइतबार नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा पोखरेलले ओलीलाई साथ दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

पोखरेलको कुरालाई प्रचण्डले सिरियसली लिएकी लिएनन् केही भनिएको छैन । पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई फाकाएर ओलीको पक्षमा लैजान प्रयास गरिरहेको नेकपाका एक नेताले बताएका छन् ।

Published : Monday, 2020 April 27, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया