खतिवडाको प्रश्न, ‘महरालाई दशैँ मान्न नदिने, अपहरणमा संलग्नलाई किन बचाउने ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न हतारहतार गर्ने सरकारले सांसद अपहरणमा संलग्नहरूलाई संरक्षण गरेको भन्दै आक्रोश पोखेका छन् ।

खतिवडाले आइतबार ट्वीट गर्दै सांसदको अपहरणमा संलग्नहरूलाई बचाएको भन्दै ब्याङ्ग्य गरेका छन् । खतिवाले दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘यो सरकार क्षमतावान छ भन्ने हिजो देखिएको थियो’, खतिवडाले भने, ‘आरोप लाग्नसाथ तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दशैँ नभनी मुद्दा चलायो । पक्राउ गरेर थुनामा पठायो ।’

‘मोहम्मद अफ्ताब आलमलाई झन् छिटो मुद्दा चलायो, अहिलेसम्म थुनामा छन्’, कांग्रेसका पूर्वसांसद खतिवडाले भनेका छन्, ‘अब यी भीआईपी अपहरणकारी तीन महोदयलाई कहिले के होला ? सरकार, जनता जान्न चाहान्छ ।’

पूर्वसांसद खतिवडाले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूलाई बचाउन नहुने उनले बताएका छन् ।

खतिवडाले सांसद अपहरण जस्तो कार्यमा संलग्न भएको घटना सार्वजनिक हुँदा समेत गृहमन्त्री रामबहादुर थापाले कुनै पनि प्रतिक्रिया नदिएकोमा आश्चर्य चकित परेको जनाएका छन् ।

‘चर्चित माननीय अपहरण प्रकरणमा किन गृहमन्त्री मौन छन् ?’, खतिवडाले प्रश्न गरेका छन्, ‘पूर्व आईजीपी आफैंले नियुक्ति गरेको र २ माननीय आफ्नै पार्टीका भएकै आधारमा चुप बस्नु भएको हो भने कानूनी राज्यको उपहास हो ।’

‘नत्र तु यी तीन जनालाई पक्राउ गरि मुद्दा चलाउनु पर्‍यो’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘गृहमन्त्री थापाले कि मेरै पहलमा अपहरण भएको हो भन्नु पर्‍यो ।’

‘नेकपाका शक्तिशाली नेता मेरा बन्धु बामदेब गौतम आफू अब राष्ट्रिय सभामा सिफारिस नहुँदासम्म केपी ओलीको विरुद्ध बोल्नु हुन्न होला जस्तो देखियो । हस्तलिखित नोट पनि आयो ।’

Published : Sunday, 2020 April 26, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया