कोरोना रोकथाम र तयारीमा कम्युनिस्ट सरकार अयोग्य, कांग्रेसद्वारा महत्वपूर्ण पहल शुरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरू एवम् स्वास्थ्य क्षेत्रका बिज्ञहरूसँग कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यहरूबारे गहिरो समीक्षा गरेका छन् ।
कांग्रेस सभापति देउवाले आइतबार कोरोना भाइरसको संक्रमण रोकथाम तथा अहिलेको मितिमा अनिवार्य रुपले गरिनुपर्ने कार्यहरूबारे छलफल गरेका हुन् ।
सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका वीच देशभरि कार्य गरिरहेका स्वास्थकर्मी र सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व तथा सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने बताएका थिए ।
छलफलका क्रममा आएका महत्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनका लागि नेपाली कांग्रेसले माग गरेको छ ।
‘लकडाउनले कोरोनासंग जुध्न वातावरण निश्चयनै निर्माण गर्यो । तर, लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ’, कांग्रेसले भनेको छ, ‘सरकारले आवश्यक गति बढाउनुपर्छ ।’
‘परीक्षण समुदायस्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकता छ । र्यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआर कै क्षमता र दायरा बढाइनु पर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘स्वास्थकर्मीहरूलाई पर्याप्त पीपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ’, देउवाले भनेका छन्, ‘यतिको समय ब्यतित हुँदापनी अझै सामग्री पर्याप्त नहुँदा स्वास्थकर्मीहरू जोखिमपूर्ण ढंगले कार्य गरिरहेका छन् ।’
‘तत्काल गुणस्तरीय सामग्री पुर्याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ’, कांग्रेसले भनेको छ ।
‘कतिपय बेला स्वास्थकर्मीहरूलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अस्पतालहरूको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरूको वृद्धिमा गति बढाउन जरुरी छ’, देउवाले भनेका छन् ।
‘अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘उपचार कठिनाइसंगै अत्यावश्यक औषधिहरूको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ ।’
‘कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन्’, विज्ञप्तिमा भनिएको छ ।
‘विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरूको उचित ब्यवस्थापन जरुरी छ’, कांग्रेसले माग गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया