सांसद अपहरण शैली प्रकरणमा पूर्वआईजीपी र बस्नेतसँगै रहेका चौथो व्यक्ति काे हुन् ?
काठमाडौं । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउने टीममा चौथो व्यक्ति पनि थिए । ती चौथो व्यक्ति को हुन् भनेर खोजी शुरु भएको छ ।
खाना खाँदै गरेको टेबुलमा चार जना छन् । ती चार जनामध्येको चौथो व्यक्ति को हो भनेर धेरैलाई चासो बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल तस्वीरमा देखिएका छन् ।
उनीहरूसँगै खाना खाँदै गरेका चौथा व्यक्ति थिए, नवीन बस्नेत । नवीनलाई गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैँटेकाे साथी भएकाे आराेप छ ।
आईजीपी खनालले घैँटेलाई कथित ईन्काउन्टरको बहानामा व्यक्तिगत रिसिईबी साँध्न काठमाडौंमा गोली हानेर हत्या गरेको आरोप छ ।
सेलिब्रेटी प्रहरीका रूपमा चिनाउन मन पराउने पूर्वप्रहरी प्रमुख खनाल राजनीतिक अपराधीकरणको बाटोमा लागेको समाचारले धेरैको ध्यान त्यतातिर गएको छ ।
सांसद डा.यादवलाई लिन महेश बस्नेत, किसान श्रेष्ठसँग सर्वेन्द्र खनाल मात्रै तराई झरेका थिएनन् । उनीहरूसँगै सर्वसाधारणबाट अपरिचित एक व्यक्ति पनि सहभागी थिए ।
नवीन बस्नेत पनि उनीहरूसँग जनकपुर गएका थिए । उनलाई कसले लग्यो ? महेशले वा खनालले भन्ने खुलेको छैन ।
नवीन बस्नेत अहिले महेश र खनाल दुवैका विश्वासपात्र हुन् । बीचमा खनाल र नवीनको सम्बन्ध एकपटक खटपट आएको थियो । महेश बस्नेतसँग नवीन निकट भएपछि खनालसँग सम्बन्ध सुधार भएको हो ।
त्यसको उदाहरण सांसद डा.यादवलाई लिन जाँदा पनि नवीन र खनाल एकैसाथ खाना खाँदै रमाएको फोटो पनि हो ।
ती व्यक्ति पनि डा. यादवलाई लिन जनकपुर पुगेपछि भने पूर्वप्रहरी अधिकारीमात्र होइन, खनालका प्रहरी सहकर्मीहरूले पनि आश्चर्य व्यक्त गरेका छन् ।
नवीनकाे समाजवादी पार्टीको विद्रोही समूहभित्र राम्रो सम्बन्ध छ । त्यही कारण महेश बस्नेतले नवीन र खनाल दुवैलाई प्रयोग गरेका हुन् ।
पूर्वसहरी विकासमन्त्री मोहम्मद इस्तिहाक राईसँग नवीनको मित्रवत सम्बन्ध छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको आउट अफ रिङरोडको काम चाइना कम्युनिकेसन सर्भिस (सीसीएस)ले पाएको थियो ।
त्यसको स्थानीय एजेन्ट उनै नवीन बस्नेत थिए । इस्तिहाक सहरी विकासमन्त्री भएकैबेला सो सीसीएसले ठेक्का पाएको थियो । हाल महेश बस्नेतसँग राम्रो सम्बन्ध भएकोले नवीनलाई खनालले पनि काखी च्यापिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार खनाल र नवीनले भक्तपुरमा जग्गा खरिद गरेका छन् । महेश बस्नेतको सहयोगमा जग्गासम्म बाटो पुर्याएर प्लटिङ गरी बिक्री गर्ने योजना रहेको स्रोतले जनाएको छ ।
सत्ता र शक्तिको आडमा नवीनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास देखाएर विभिन्न सरकारी कार्यालयका ठेक्कापट्टालगायतका काम हात पार्ने गरेको आरोप छ ।
अवकाशपछि राजनीतिक नियुक्तिको चक्करमा रहेका खनालले अहिलेको अवसरलाई सदुपयोग गर्न खोजेको देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया