कुवेतमा संकटमा परेका चार हजार कामदारको उद्धार गरौँः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका चार हजार नेपालीहरूको उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसको जनसम्पर्क समन्वय विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गरेर कुवेत सरकारले आममाफी दिएका ती चार हजार कामदारलाई स्वास्थ्य परीक्षण गरेर ल्याउने पहल गर्न माग गरेका हुन् ।
कुवेत सरकारले नै अबैध रुपमा बसोबास गर्दै आएका नेपाली कामदारहरूलाई आफ्नै खर्चमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य परीक्षण पूरा गरेर नेपाल पठाउने जनाएको कांग्रेसले उल्लेख गरेको छ ।
‘कुवेत सरकारले त्यहाँ रहेका करीव ४ हजार गैरकानूनी रुपमा बस्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पु¥याउने निर्णय गरेको छ’, कांग्रेसले भनेको छ ।
‘कुवेत सरकारको गैरकानूनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्बन्धित देशसम्म पु¥याउने नयाँ नीतिअनुसार यसअघि गैरकानूनी रुपमा बसेकालाई कानूनअनुसारको दण्ड सजाय मिनाह गरेर एकमुष्ट आममाफी दिएर सम्बन्धित देशमा फिर्ता गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘कुवेतले विभिन्न देशका कामदारलाई फरक–फरक मिति तोकेर आफ्नो मुलुक फर्कने तालिम समेत बनाएको छ’, कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले भनेका छन् ।
‘अप्रिल २६ अर्थात आइताबारदेखि ३० गतेसम्म गैरकानूनी रुपमा बस्दै आएका नेपाली कामदारलाई फिर्ता हुनका लागि समय दिएको छ’, कांग्रेसले जनाएको छ ।
‘त्यहाँका विमानहरूलाई पनि विना भिषासम्बन्धित देशमा लैजान सक्ने निर्णय कुवेतले गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘कुवेत सरकारले तोकेको समयभित्र नेपाल नफर्किए फेरि उनीहरू गैरकानूनी भएर कारबाहीको भागिदार हुन सक्छन्’, कांग्रेसले भनेको छ, ‘तसर्थ म नेपाल सरकारलाई तत्काल कुवेतमा रहेका ती नेपाली कामदारलाई नेपाल फिर्ता गराउने प्रवन्ध गर्न अनुरोध गर्दछु ।’
‘उनीहरू नेपाल आउनुअघि कोरोना भाइरसको परीक्षण गरेर मात्रै पठाउन कुवेत सरकारकै नीति छ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ ।
‘फर्कने हवाई भाडा पनि कुवेत सरकारले नै दिने भएकाले यसमा नेपाल सरकारको आर्थिक भार पनि हुँदैन’, विभागका प्रमुख भट्टराईले भने, ‘उनीहरूलाई नेपाल ल्याएर कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मात्रै गर्नुपर्ने हुन्छ ।’
‘कुवेत सरकारले तोकेको समय आइतबार वैशाख १४ गतेदेखि शुरु हुँदैसम्म समेत त्यहाँको नेपाली दूतावासले नेपाली कामदार ल्याउने विषयमा कुनै प्रक्रिया शुरु नगर्नु निकै दुःखद हो’, विज्ञप्तिमा उल्लेख छ ।
‘तत्काल क्वारेन्टाइनको प्रवन्ध गरेर उनीहरूलाई नेपाल ल्याउने कुटनीतिक पहल अघि बढाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय र त्यहाँको दूतावासलाई आग्रह गर्न चाहन्छु’, कांग्रेसले जनाएको छ ।
‘कुवेत सरकारको सोही निर्णयअनुसार गैरकानूनी रुपमा बस्दै आएका करीव ४ हजार नेपालीहरू नेपाल आउन चाहेका छन्’, भट्टराईले भनेका छन् ।
‘नेपाली दूतावासले नेपाल ल्याउने पहल नगर्नु आफ्ना नागरिकप्रतिको गम्भीर लापरबाही हो’, विज्ञप्तिमा भनिएको छ ।
‘उनीहरूले नेपाल आउन चाहेकोभन्दा सम्बन्धित दूतावासमार्फत नेपाल सरकारसँग अनुरोध गर्दै आएका छन्’, कांग्रेसले भनेको छ, ‘उनीहरूको आग्रहलाई सरकारले कुनै सुनुवाई गरेको छैन ।’
‘विश्वभर रहेका आफ्ना नागरिकको सुरक्षा गर्ने र आवश्यक परे नेपाल सरकारको खर्चमा उनीहरूलाई सम्वन्धित देशबाट फिर्ता ल्याउने राज्यको दायित्व हो’, कांग्रेसले भनेको छ ।
‘कुवेत सरकारले नै खर्च बेहोर्ने र उनीहरूफेरि कुवेत जान कुनै रोकतोक नहुनेगरी सुविधा दिँदा समेत सरकार चुप लाग्नु आफ्नो नागरिकप्रतिको गम्भीर हेलचेक्राई हो’, विज्ञप्तिमा उल्लेख छ ।
‘म नेपाल सरकारलाई तत्काल आफ्ना नागरिकलाई नेपाल ल्याउने पहल गर्न अनुरोध गर्दछु’, भट्टराईले भनेका छन्, ‘कुवेतबाट ल्याएपछि उनीहरूलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइन राख्ने प्रबन्ध गर्न माग गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया