काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली, अपराध महाशाखामा थापा

काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले पाएका छन् ।

गृह मन्त्रालयले एसएसपी ज्ञवालीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत ज्ञवाली प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ हुन् ।

गृह मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको जिम्मेवारी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापालाई दिएको छ ।

एसएसपी थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

काठमाडौं प्रहरी प्रमुखका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको डीआईजीमा बढुवा भएको थियो । त्यसपछि ती स्थान रिक्त रहेका थिए ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका सुवेदीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।

एसएसपीबाट डीआईजी भएका थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी पाएका छन् ।

Published : Friday, 2020 April 24, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया