कांग्रेसको मागले यी तीन भीआईपीहरूको धड्कन बढाइदियो

काठमाडौं । नेपाली कांग्रेसले सांसद अपहरण प्रकरणमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर सांसदको अपहरण शैलीमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका हुन् ।

चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ ।

‘सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘अध्यादेश फिर्ता भएपनि यो प्रकरणसंग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोष्ीालाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

‘कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहीको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।

कम्युनिस्ट सरकारको संरक्षणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि सभाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वआईजीपीले अपहरणको शैलीमा समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

सो घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

Published : Friday, 2020 April 24, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया