ओलीको योजनामा तुषापात, आयोगले लिखित सूचना पायो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीवीच भएको पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिइएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले अध्यादेशमार्फत दल विभाजनका लागि बाटो खोलेको थियो । सोही अध्यादेशअनुसार समाजवादी पार्टीकी समानुपातिक सांसद रेणु यादवको नेतृत्वमा नयाँ दल बनाउने तयारी भएको थियो ।

ओलीले पार्टी फुटाउन लागेको चालपाएपछि राजपा र समाजवादी पार्टीवीच बिहीबार मध्यराति पार्टी एकीकरण गर्ने निर्णय भएको थियो । दुबै पार्टीवीच एकीकरणपछि ‘जनता समाजवादी पार्टी नेपाल’ (जसपा) नाम राखेर नयाँ पार्टी बनाउने सहमति भएको छ ।

सो सहमति र निर्णयको जानकारी दुबै दलका शीर्ष नेताहरूले बिहीबार निर्वाचन आयोगमा पुगेर दिएका छन् ।

दुई जसपाका नेता राजेन्द्र महतोले दुई पार्टीवीच एकीकरण गर्ने निर्णयका विषयमा आयोगलाई लिखित जानकारी दिइएको बताए ।

आयोगमा बुझाइएको पत्रमा राजपाका संयोजक शरतसिंह भण्डारी र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई फुटाउन सरकारको संरक्षणमा सो दलका रेणु यादव, मोहम्मद ईतियाक राईसहितका केही सांसदहरूलाई काठमाडौंको नागपोखरीस्थित रहेको पाँचतारे मेरियट होटेलमा राखिएको थियो ।

होटेलबाट डा.सुरेन्द्र यादव बिहीबार बिहान भोगेर पार्टीको सम्पर्कमा पुगेका छन् ।  समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजनामा तत्कालका लागि तुषारापात भएको छ ।

यसैवीच, राजपा र समाजवादी पार्टीका नेताहरूले सभामुख अग्नि सापकोटालाई पनि दुई पार्टीवीच एकीकरण भएको जानकारी दिएका छन् ।

लकडाउन खुल्नेवित्तिकै आयोग र संसद सचिवालयमा बाँकी प्रक्रियाहरू पूरा गरेर बुझाइनेछ । राजपा र समाजवादी पार्टीले प्रधानमन्त्री ओलीले आफूहरूको पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

डा.बाबुराम भट्टराईका निजी सहयोगी विश्वदीप पाण्डेले आफ्नो दलका सांसद डा.सुरेन्द्र यादवलाई नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र व्यापारी किसान श्रेष्ठले अपहरण गरेर काठमाडौं ल्याएको जनाएका थिए ।

Published : Thursday, 2020 April 23, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया