राप्ती गाउँपालिकाले दुई जनालाई क्वारेन्टाइनबाट घर पठायो

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनालाई घर पठाइएको छ ।

लालमटियाको सर्वोदय माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका दुईलाई थप केही दिन होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको हो । उनीहरूलाई मंगलबार घर पठाइएको छ ।

बाहिरबाट राप्ती गाउँपालिकामा आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ९ बरडाडाँका वर्ष ५० का धनबहादुर बिक र वर्ष १९ का दीपक बिकलाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनियाँ स्वास्थ्य चौकीको नियमित चेकजाँच गरिएको थियो ।

उनीहरूलाई आरडी कीटबाट परीक्षण गर्दा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, लेखा अधिकृत धनप्रसाद शर्मा, स्वास्थ्य शाखा संयोजक नारायण राउत, लेखापाल रेशमराज अधिकारी लगायत धनबहादुर बिक र दीपक बिकसँग भेटघाट गरि विदाइ गरेका थिए । उनीहरूलाई घर जान एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

भारतबाट राप्ती गाउँपालिकामा १ सय ५६ जना आएका छन् । उनीहरूलाई होम क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँच गरिदै आइएको छ ।

Published : Wednesday, 2020 April 22, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया