कम्युनिस्ट सरकार बेलगाम भएपछि कांग्रेस नेतृ डा.संग्रौलाले दिइन् सुध्रिन चेतावनी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन बचाउन सबै मिलेर एकढिक्का भएर अगाडि बढ्नुपर्ने बेला सरकारले दुई वटा अध्यादेश ल्याएर सहमतिको मार्ग बिथोलेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाकी सांसद समेत रहेकी कांग्रेस नेतृ डा.संग्रौलाले बुधबार प्रेस नोट जारी गरेर कोरोना भाइरसको जोखिमको सामना गर्नुपर्ने राष्ट्रिय संकटको अवस्थामा सरकारले अध्यादेश ल्याउनु निकै गम्भीर विषय भएको बताएकी छिन् ।
उनले राजनैतिक दलहरू एकढिक्का भई सहमति, सहकार्य साझेदारी र राष्ट्रिय एकताका साथ ईमान्दारी पूर्वक जनताको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।
‘एकातिर महामारीका कारण देश आन्तरिक र बाह्य लकडाउनमा रहेको मौका छोपेर अप्रत्यासित रुपमा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिपरिषदले संविधानको व्यवस्था र भावना विपरीत अध्यादेश ल्याइएको छ’, उनले भनेकी छिन् ।
राजनीतिक दल परित्याग र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरि देशमा एक पटकफेरि राजनीतिक अस्थिरता निम्ताउने कार्य नेकपाको सरकारबाटै भएको बताएकी छिन् ।
अध्यादेश जारी गर्दाको देशको भयावह अवस्थालाई समेत नजरअन्दाज गरि प्रमाणीकरण गरेको अवस्था लाई हेर्दा यो कदम ‘एकतिर अनेक निशाना’ जस्तो देखिएको उनले बताएकी छिन् ।
यस्ता क्रियाकलापले देशमा लोकतान्त्रिक व्यवस्थालाई नै खतम पार्ने षड्यन्त्रको रुपमा आएको उनले बताएकी छिन् ।
‘संविधानवाद एवम् लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध भएको श्रृङखलबद्ध आक्रमणको सम्पूर्ण लोकतन्त्रवादी महानुभावले यसको रक्षाका लागि एकाकार हुनु पर्दछ’, कांग्रेस नेतृ संग्रौलाले भनेकी छिन्, ‘त्यसका लागि सरकारको अधिनायकवाद शैलीबिरुद्ध सम्पूर्ण नेपाली नागरिकले अर्को संघर्षको लागि तयार हुनुपर्छ ।’
तत्कालका लागि कोरोना भाइरसको माहामारीबाट नेपाली जनताको जीवन रक्षाका लागि जुट्नु पर्ने भन्दै उनले राजनीतिक दल परित्याग एवम् संवैधानिक परिषद सम्बन्धि अध्यादेश कम्युनिस्ट सरकारले तुरुन्तै फिर्ता लिनुपर्दछ ।’
‘अध्यादेश फिर्ता भएन भने लोकतन्त्रप्रेमी नेपाली जनता यो कपटपूर्ण कार्यको विरुद्ध सामाजिक दुरी कायम गरि सडकमा उत्रिन बाध्य हुनेछन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया