लकडाउनका बेला ओलीजीले अधिनायकवादको परीक्षण गर्नुभयाेः नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका पछिल्ला कदम र गतिविधी लोकतन्त्रविरुद्ध रहेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रेस नोट जारी गर्दै नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले ओलीका गतिविधिहरू लोकतन्त्रविरुद्ध मात्र नभइ संविधान सभाबाट जनताले बनाएको संविधान विपरित रहेको बताए ।

‘ओलीजीका गतिविधिहरू लोकतन्त्र र संविधानविरुद्ध छन्’, उनले भने, ‘कोरोना भाइरसका विरुद्ध एक भएर सिङ्गो देश एक भएका बेला कम्युनिस्ट सरकार अधिनायकवादतर्फ जान थालेको छ ।’

प्रधानमन्त्री ओलीले संविधानले दिएका अधिकारलाई समेत कटौती गर्ने योजनाका साथ संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए । संवैधानिक परिषदमा संविधानले गरेको व्यवस्थालाई ओलीले एकलौटी रुपमा कब्जा गर्न प्रमुख विपक्षी दललाई बाइपास गरेर निर्णयहरू गर्ने योजनाक साथ अध्यादेश ल्याएको बताए ।

लोकतान्त्रिक व्यवस्थामा संवैधानिक परिषदबाट प्रमुख विपक्षी दललाई हटाउने ओलीको निर्णय अधिनायकवादको एउटा अर्को कदम रहेको कांग्रेस नेता महरले बताए ।

कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारमाथी लागेका गम्भीर आरोपहरूलाई विषयान्तर गर्न ओलीले अध्यादेश ल्याएको महरले आरोप लगाए ।

‘अध्यादेशले स्थिर सरकारका माध्यमले राजनीतिक स्थायित्व ल्याउने नेकपाको घोषणा पत्रमा चट्यांग परेको छ’, उनले भने, ‘स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमिततालाई विषयान्तर गर्न प्रधानमन्त्री अध्यादेशसहितका हर्कत गर्नुभएको छ ।’

निर्वाचनका बेला स्थिरता सरकारको माग गरेर जनतासँग भोट मागेको स्मरण गराउँदै महरले भने, ‘राजनैतिक स्थिरताका लागि भोट माग्ने, राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफैले अस्थिरताको बीउ रोप्ने ।’

‘ओलीको पछिल्लो कदम निंकुशता लाद्ने प्रस्थान बिन्दु पनि हो’, उनले भने, ‘यो दुरी कति माइल टाढा छ भन्न न सकिए पनि, सबै राजनीतिक दल र लोकतन्त्रवादीहरूको सामूहिक विषय बनिसकेको छ ।’

गम्भीर र जघन्य विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरेर लोकतान्त्रिक पद्धति जगेर्नाको नेतृत्व गर्ने जिम्मेवारी बहन गर्न कांग्रेस अग्रसर हुने बेला आइसकेको नेता महरले बताएका छन् ।

Published : Tuesday, 2020 April 21, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया