प्रेम राईलाई अख्तियारमा ल्याउन अध्यादेशले कांग्रेसको पत्ताकट, सासु र पत्नीका कारण देउवा दिक्क

काठमाडौं । राजनीतिक स्थायित्वको माग गरेर निर्वाचनका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनतासँग भोट मागेका थिए । ओलीको आग्रहलाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत पनि दिए ।

ओली सरकार गठन भएपछि जनताले धेरै अपेक्षा गरेका थिए । तर, ओलीले निर्वाचनमा गरेका प्रतिवद्धता र आश्वासनहरू सबै चत्रक्कै भुले ।

वाइडबडी काण्ड, एनसेलको कर काण्ड, यती समूह प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार जग्गा काण्ड, चीनबाट स्वास्थ्य सामग्री खरिद घोटाला लगायत थुप्रै काण्डहरू ओली सरकारको पालामा भए । यस्तै प्रकारका अरु धेरै काण्डहरू भएका छन् ।

यी काण्डहरूबाट क्लिन चिट पाउन र बिराेधीहरूलाई तह लगाउन ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेशमा संवैधानिक परिषदबाट कांग्रेसलाई हटाउने संवैधानिक व्यवस्था बनाएका हुन् । ओलीले दल फुटाउने मिल्ने अध्यादेशबाट नेकपाभित्रका विराेधीलाई धम्की दिएका छन् भने संवैधानिक परिषदबाट कांग्रेसलाइ हटाएर एकलाैटी गर्ने याेजना बनाएका छन् ।

कांग्रेसका लागि राजनीतिक दलसम्बन्धी अध्यादेशभन्दा पनि संवैधानिक परिषदसम्बन्धी विधेयक खतरनाक छ ।

यी र यस्तै काण्डहरूबाट बच्नकै लागि प्रधानमन्त्री ओलीले सोमबार संवैधानिक परिषदसम्बन्धी एउटा अध्यादेश ल्याएका छन् । ओलीले जानीबुझिकन संवैधानिक परिषदबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई बाइकट गर्न खोजेका छन् ।

संवैधानिक परिषदमा यसअघि जहिले पनि प्रमुख विपक्षी दलको नेता सदस्य रहने व्यवस्था थियो । त्यो व्यवस्थालाई ओलीले अध्यादेशबाट हटाएर आफ्नो बाटो क्लियर बनाएका छन् ।

कमजोर अवस्थामा रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई ओलीले संवैधानिक परिषदबाटै हटाएर आफ्नो निरंकुश चरित्र देखाएका छन् । लोकतान्त्रिक मुलुकमा संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता सदस्य रहने व्यवस्था हटाउनु भनेको निरंकुश र अलोकतान्त्रिक कुरा भएको संविधानविद् डा.भीमार्जुन आचार्यले बताएका छन् ।

ओलीले संवैधानिक परिषदबाट कांग्रेसलाई हटाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफू अनुकूलको व्यक्तिलाई अख्तियारको प्रमुख बनाउने तयारी थालेका छन् । स्रोतका अनुसार ओलीले पूर्वगृहसचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख बनाउने गृहकार्य गरेका छन् ।

राईलाई अख्तियारको प्रमुख बनाउँदा कांग्रेसको अड्चन आउन सक्ने भन्दै ओलीले अध्यादेशबाट संविधान संशोधन गरेर संवैधानिक परिषदको सदस्यबाट कांग्रेसलाई हटाइदिएका छन् ।

अहिलेका अख्तियारका प्रमुख नवीन घिमिरे ओली र नेकपाप्रति लचक भएपनि प्रोफेश्नल छन् । ओलीले भनेका सबै कुरा मान्न प्रमुख आयुक्त घिमिरे तयार छैनन् ।

घिमिरे जस्तै व्यक्ति अख्तियारको प्रमुख भयो भने ओलीलाई समस्या पर्न सक्छ । त्यसैले पूर्वगृहसचिव राई जस्ता व्यक्तिलाई अख्तियार प्रमुख बनाएर आफ्नो विरोधीहरूलाई ओलीले ठेगान लगाउने तयारीमा रहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

ओलीका सहयोगी तथा निकटका व्यक्तिहरूलाई पनि चोख्याउन अख्तियारमा राईलाई लैजान खोजिएको छ ।

पूर्वगृहसचिव राईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अबरोध हुन सक्ने भन्दै कांग्रेस निकटका केही उच्च कर्मचारी र नेताहरूमार्फत बुढानीलकण्ठसँग तालमेल मिलाउने प्रयास गरेका छन् । अख्तियारको प्रमुखमा राईलाई बनाउन देउवाले ग्रिन सिग्न दिएको चर्चा छ ।

सभापति देउवाले आफ्नी सासु प्रतिभा राणाको राजदूत पद बचाइदिन राईले ठूलो भूमिका खेलेको चर्चा छ । डा.आरजु राणाकी आमा जापानका लागि नेपाली राजदूत छिन् । ओली सरकारले आरजुकी आमा प्रतिभा राणालाई जापानमा यथावत राखेको छ ।

Published : Tuesday, 2020 April 21, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया