कोरोनाबाट जनता बचाउने बेला ओलीजीले बालुवाटारमा बांसुरी बजाउन व्यस्तः कांग्रेस

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमणबाट जनता बचाउने बेला दल विभाजनको अध्यादेश जारी गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गरेर नागरिकको जीवन रक्षका लागि सरकार गम्भीर नरहेको आरोप लगाएका छन् ।

‘कोरोनाको संक्रमणसंग पूरै विश्व एक भएर लडिरहेको छ’, उनले भने, ‘यस्तो बेलामा नेपाल सरकारले सोमबार संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दलसम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ ।’

‘दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ, सभापति देउवाले विज्ञप्तिमा भनेका छन् ।

‘कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउँदै आएको छ’, उनले भनेका छन् ।

‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’, उनले भनेका छन् ।

‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो’, उनले भने, ‘संगैमा संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो ।’

देउवाले भनेका छन्, ‘नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।’

‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ’, सभापति देउवाले भनेका छन् ।

कम्युनिस्ट सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुइटा अध्यादेश सोमबार जारी गरेको छ । यसको विरोध भइरहेको छ ।

Published : Monday, 2020 April 20, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया