कांग्रेस सांसद लामाद्वारा जिल्लाबासीहरूको उद्धार, स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले लकडाउनका कारण समस्यामा परेका आफ्नो जिल्लाका १६ जनाको उद्धार गरेका छन् ।

काभ्रे जिल्लाबाट ललितपुर, काठमाडौं हुँदै नुवाकोट जान हिँडेका १६ जनालाई कांग्रेस नेता लामाले शुक्रबार उद्धार गरेका हुन् । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाका १६ जनालाई आफैले गाडी बनाएर पठाएको लामाले बताए ।

उद्धार गरिएका १६ जनालाई गाउँपालिकाका अध्यक्ष छत्र लामामार्फत क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरक्षाकर्मीहरूले १६ जनालाई रोकेर राखेको थाहा पाएपछि नेपाली कांग्रेसका सांसद लामाले गृहसचिव महेश्वर न्यौपानेलाई फोन गरेर उद्धारका लागि आग्रह गरेका थिए ।

गृहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकराज राई तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको सहयोगमा आफ्ना जिल्लाबाट १६ जनाको उद्धार गरिएको थियो ।

नुवाकोटका मजदुरहरूसँग रहेका कैलाली जिल्लाका मजदुरहरूलाई पनि घर जान ललितपुर प्रशासनले दिएको थियो ।

यसैवीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद लामाले नुवाकोट जिल्लालाई चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरूका लागि १२० थान पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई)को सेट, करीव १४ हजार मास्क, ७५ लिटर सेनिटाइजरलगायतका सामग्रीहरू हस्तान्तर गर्ने भएका छन् ।

नुवाकोट जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरू जिल्ला समन्वय समितिमार्फत ती सामग्रीहरू वितरणको तयारी गरिएको सांसद लामाले जानकारी दिए ।

उनले सबै नगरपालिका र गाउँपालिकालाई शरीरको तापक्रम नाप्ने थर्मो गन पनि उपलब्ध गराउनेछन् । थर्मो गन चीनबाट मगाइएको २–३ भित्रै आएपछि उपलब्ध गराउने उनले बताए ।

Published : Saturday, 2020 April 18, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया