गौरवशाली नेविसंघलाई पार्टीका नेताहरूले ‘कठपुतली’ बनाए

आशुतोष झा ‘नवीन’, नेता, नेविसंघ, प्रदेश २

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५१औं स्थापना दिवस मनाइरहँदा अमर शहीदहरूको सहादतको सम्झना आइरहेको छ ।

कलम र मसाल अंकित क्रान्तिवाहक ध्वजालाई सधैं उँचो राख्ने क्रममा प्राणभन्दा आदर्श मूल्यवान हुन्छ । नेविसंघको स्मरणीय शहीदहरू कामेश्वर र कुशेश्वर, लीला–ठगी, राम–लक्ष्मण, पेशल, केशव, सुरत, बुधन मियाँ, सागर सिंह, राजन गिरी, मिथिलेश दुबे आदि इतिहासमा रहेका शहीदहरूले हाँसीहाँसी सहादत दिएका थिए ।

म सोँच्दै छु । यी अमर शहीदहरूले हाँसीहाँसी आफ्नो ज्यानको आहुती किन दिए ? विक्रम संवत २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना नभएको भए के हुन्थ्यो ? जनमत संग्रह हुँदै प्रजातन्त्र पुनःस्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा अगाडि कसरी बढेको थियो ? नेविसंघ नरहेको भए देशमा यति धेरै राजनीतिक घटना क्रम सहज हुन्थ्यो र ? इतिहासमा २०२७ सालपछि नेविसंघ हस्तक्षेपकारी शक्ति सावित भएकै हो ।

राजनीतिक परिवर्तनहरूमा नेविसंघले आफ्नो अग्रणी भूमिका देखाएकै कारण नेविसंघ आजपर्यन्त बलियो राजनीतिक संगठनका रुपमा रहँदै आएको छ । स्थापना भएको यतिधेरै वर्षपछि नेविसंघ हिजो जस्तो रहेन । शनिबार स्थापना दिवस मनाउँदै गर्दा नेविसंघको केन्द्रीय कार्यसमिति पूर्णतः अस्तित्वमा पनि छैन ।

हिजोका दिनमा विद्यार्थी माझ रहेको नेविसंघ आज पार्टीका शीर्ष नेताहरूको गुटउपगुट तथा नेताहरूको आफ्नो आसेपासे दिनभरि पार्टीको नेताहरूको पछिपछि हिँड्नेहरूको हातमा कसरी र किन पुग्यो ? पार्टीका नेताहरूले कलम र मसाल अंकित झण्डाप्रति आफ्नो इमानदारिता किन देखाएनन् ? हिजो देशको हरेक राजनीतिक घटनाप्रति गम्भीरतार्पूवक नजर राख्ने नेविसंघ आज आफैं–आफैमा किन लडाइँ गरिरहेका छन् ?

हिजो नेविसंघ हरेक स्कुल र कलेजमा थिए । आज नेताको नजिक मात्रै किन सीमित रह्यो नेविसंघ ? विद्यार्थीको हकहित र अधिकार संरक्षणका निम्ति सदैव लडिरहेका नेविसंघभित्र आज नेताहरूद्वरा सञ्चालित गुट र उपगुटको राजनीति किन र कसरी फस्टायो ? नेविसंघको नेता विद्यार्थीलाई चुन्न नदिई राजनीति स्वार्थ स्वरुप विद्यार्थीको नेता पार्टीको नेताहरूले नै चुन्ने संस्कृतिको शुरुआत किन गरियो ?

हिजो पार्टीको गलत कुराको विरुद्ध बोल्ने सचेत गराउने नेविसंघ आज पार्टीको नेताको अगाडि नतमस्तक किन र कसरी भए ? नेविसंघलाई ‘कोमा’मा पुर्‍याउन पार्टीको नेताहरू धमिलो राजनीति किन खेल्दैछन् ? विधान सम्मत हरेक २ दुई–दुई वर्षमा नेविसंघ महाधिवेशन हुनुपर्ने तर लोकतन्त्रको दुहाई दिने नेताहरूले नियम विपरीत विधि र कानून मिचेर महाधिवेशन नगराई आफ्नो आसेपासे पकेटका मान्छे जो अहिले युवा विद्यार्थी उमेरका पनि छैनन् त्यस्तो व्यक्तिहरूको हातमा नेविसंघको नेतृत्व किन सुम्पेका छन् ?

अहिलेसम्म नेविसंघले जम्मा १९ जना अध्यक्ष पाइसकेको छ । त्यसमध्ये धेरै नेतृत्व विद्यार्थीलाई चुन्न नदिएर पार्टीको नेताले चुनेका छन् । यी तमाम प्रश्नहरूको खोजीमा नै नेपाल विद्यार्थी संघ अड्किएको छ । यहि अवस्थामा हो नेविसंघको देशको पुरानो विद्यार्थी संगठन यहाँ नै अल्मलिएको छ । यसरी पार्टीको नेताहरूको अनावश्यक हस्तक्षेप गरेको कारणले नेविसंघभित्र पुस्ता परिर्वतन भए पनि समय क्रमसँगै नेविसंघ अहिले आफैंमा कमजोर भएको छ । यो सत्यलाई कसैले नकार्नु भ्रम मात्र हुनेछ ।

राणा शासनविरुद्ध लडेको, पञ्चायतसंग लडेको, राजाको शासन र माओवादीको जर्जर लडाकुसंग लडेको नेपाल विद्यार्थी संघ अनायासै नेपाली राजनीतिको कमजोर संगठन बन्न पुगिरहेको छ । कलम र मसाल अंकित झण्डाको परिभाषामा क्रान्ति, शान्ति र समृद्धिको नारा घन्काइरहँदा, नेविसंघ आन्दोलनमा साहदत प्राप्त गरेका अमर शहीदहरूको बारेमा जानकारी बोध राख्ने कार्यकर्ता अब नेविसंघभित्र धेरै कम भैसकेका छन् । जो छन् त्यो गुटको राजनीतिलाई सुरक्षित गर्न मै व्यस्त हुन्छन् ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी आर्दशको मूलमन्त्रमा समाहित हुन चाहने नवीन युगका विद्यार्थीसँगको ज्ञान र क्षमतासँग बैचारिक बहस गर्ने क्षमतावान नेतृत्वको अभाव भएको छ । गुटउपगुटको व्यवस्थापन गरेर पार्टी नेतृत्वसंग आफ्नो लोकतान्त्रिक अधिकारको माग गर्न सक्ने नेतृत्वकर्ताहरूको नेविसंघमा कमी भएको छ । यी र यस्तै कुराहरूले गर्दा विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनका लागि कुनैबेला आकर्षणको केन्द्र बनेको नेविसंघ आज गुटउपगुटको केन्द्र बनेको छ ।

कांग्रेसको शीर्ष नेताहरूको आन्तरिक किचलो धमिलो राजनीतिको कारणले नेविसंघ आज कठ्पुतली जस्तै भैसकेको छ । आज नेविसंघभित्र आम विद्यार्थी कार्यकर्ताको निर्णयलाई मान्यता दिइँदैन । आफ्नो राजनीति बचाउन गुटगत राजनीतिमा रमाउने नेताहरूको दम्भ मात्रै चल्दछ । आम युवा विद्यार्थीलाई व्यक्तिगत स्वार्थ बोकेका नेताहरू आफ्नो स्वार्थ पूर्ति गर्नलाई नेविसंघको झाण्डा झोला मात्रै बोकाएका छन् । नेविसंघ गौरवशाली इतिहास, मूल्य, आदर्शबारे जानकारी गराइँदैन ।

विगतमा भन्दा विद्यार्थी राजनीतिको प्राथमिकता फेरिएको छ । विद्यार्थी राजनीतिले वास्तविक विद्यार्थी र शैक्षिक एजेण्डा समात्नुपर्ने देखिन्छ । नेता र गुटको फेरो समातेर राजनीतिक स्वार्थ साँध्नका लागि क्याम्पसदेखि नै प्रशिक्षण पाउने थलोको रुपमा नेविसंघ रही रह्यो भने कांग्रेसका लागि मात्रै होइन, विद्यार्थी आन्दोलनलाई नै ठूलो क्षति हुनेछ । अर्थात लोकतन्त्रको एउटा सच्चा पहरेदार गुम्ने खतरा बढ्न सक्छ ।

Published : Saturday, 2020 April 18, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया