कोरोनाविरुद्ध उपचारमा संलग्न डाक्टरलाई स्वास्थ्यमन्त्रीकाे निर्देशनमा कारबाही
काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनलाई कारबाही गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका डा. पुनसँग स्पष्टीकरण माग गरिएको स्रोतले जनाएको छ ।
डा.पुनसँग स्पष्टीकरण माग गरिएको पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।
टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको बताएका छन् । ‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताए ।
स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए ।
डा.पुनले भने आफूले कोरोनाभाइरसबारे जनचेतना फैलाएको बताएका छन् । आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नहुने बताएका छन् ।
डा.पुनले आफूलाई स्पष्टीकरण सोधेर पत्र आएको जानकारी पाएको बताएका छन् । स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए ।
उनले त्यसको वेवास्ता गर्दै जनचेतना फैलाउने काममा निरन्तर लागेपछि कारबाही भएको हो । स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिए पनि करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे अनभिज्ञता प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया