सरकारलाई लकडाउनमा जनताले साथ दिए, जनताले सरकारको साथ पाएनन्ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना भाइरसको संक्रमणबाट नेपाली जनता प्रताडित भइरहेको जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमण बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरे पनि सरकार उचित व्यवस्थापन गर्न असफल भएको आरोप लगाए ।

कांग्रेसका केन्द्रीय सदस्य खाँणले सरकारले लकडाउनका समयमा सही व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेको बताए ।

‘सरकारले संक्रमण न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको देखिएन’, विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ ।’

‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो’, खाँणले भनेका छन्, ‘वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरूलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ ।’

सरकारलाई गम्भीर बन्न माग गर्दै खाँणले भनेका छन्, ‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरूको उपचार गर्नु हो ।’

‘यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार गम्भीर बनोस्, हाम्रो जोडदार माग रहेको छ ।’

कांग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी बन्न माग गरेको छ ।

‘यो महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘उहाँहरू सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस्’, कांग्रेसले भनेको छ ।

‘संसारभरि छरिरहेका नेपालीहरूले महामारीको पिडा भोगी रहेको छन्’, प्रमुख सचेतक खाँणले भनेका छन्, ‘असुरक्षाको अवस्थामा उनीहरूको मनोवल बढाउन र उनीहरूको पीडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् भन्ने विषयमा ध्यानाकृष्ट गर्दछौं ।’

‘लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरू आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्राबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पीडा बोध भएको छ’, खाँणले भनेका छन्, ‘उनीहरूको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो ।’

‘यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरूको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 April 16, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया