मागेर गुजारा गर्नेहरूलाई कांग्रेस नेता महर्जनले लगनखेलमा खाना खुवाए

पाटन । नेपाली कांग्रेस खेलकुद विभागका सदस्य सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले ललितपुरको लगनखेलका मन्दिरहरूमा मागेर गुजारा गर्ने २६ जनालाई खाना खुवाएका छन् ।

लकडाउनका कारण साँझ बिहान खान समस्यामा परेका २६ जनालाई बुधबारदेखि लगखेनखेल डोजोमा खानाको व्यवस्था गरेको महर्जनले बताए ।

महर्जनले बटुक भैरव मन्दिर र आसपास मागेर गुजारा गर्नेहरूको समस्या देखेपछि लगनखेल डोजोमा ल्याएर खाना खुवाएका हुन् ।

उनीहरूलाई साबुन, ब्रस, मञ्जनसहितका सामग्री दिएर नुहाउन लगाएर सरसफाइ गराएका छन् । त्यसपछि मात्रै उनीहरूलाई महर्जनले नास्ता र खाना खुवाएका हुन् ।

लकडाउनका कारण समस्यामा परेका उनीहरूलाई खाना खुवाए पनि महर्जनले वडा कार्यालय र स्थानीय प्रहरीसँगको समन्वयमा कसरी अगाडि बढ्ने भन्ने योजना बनाउनेछन् ।

नजिकै पाटन अस्पताल रहेको र कोरोना भाइरसका संक्रमितहरूको उपचार भइरहेकाले खाना खुवाउने र राति सुत्न दिने कार्यमा केही कठिनाइ हुन सक्ने पनि जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण सर्ने जोखिमलाई ध्यानमा राखेर महर्जनले वडाका जनप्रतिनिधि र प्रहरीको सल्लाह लिएर काम गर्ने बताएका छन् ।

महर्जनले लकडाउनभरि उनीहरूलाई खान खुवाउने या सहायता दिएर पठाउने के गर्ने भनेर स्थानीय प्रहरी र वडाका जनप्रतिनिधिसँग बिहीबार सल्लाह गर्नेछन् ।

कांग्रेसका युवा नेता महर्जनले महालक्ष्मी मन्दिर र बटुक भरबमा बाटोमा बसेर मागेर गुजारा गर्नेहरूको समस्या देख्न नसकेपछि लगनखेल डोजोमा ल्याएर सरसफाइ गराइ खाना र नास्त खुवाएका हुन् । लकडाउनले गर्दा दुबै मन्दिर बन्द छन् ।

कांग्रेस नेता महर्जनले सरकारले आफूले सक्ने गरिरहेको भन्दै सबै कुरामा सरकारको मात्रै मुख ताक्ने परम्परा अन्त्य गर्नुपर्ने बताए । ‘सबै कुरा सरकारले गर्छ भनेर हामीहरू कुरेर बस्ने होइन’, उनले भने, ‘कुनै व्यक्ति समस्यामा पर्छ भनेर आफूले सक्ने सहयोग गर्नुपर्छ ।’

खाना खुवाउने कार्यमा महर्जनलाई करातेका प्रशिक्षक एवम् नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिका सचिव ध्रुब खनालले विशेष सहयोग गरेका थिए ।

https://www.facebook.com/samachar.nepal.54/videos/648012082701804/

Published : Wednesday, 2020 April 15, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया