कोरोना रोकथाममा सरकारले लटरपटर गरेपछि कांग्रेसले दियो दवाव, कमिशनको लोभ नगर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणविरुद्ध चाहिले अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने वा निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको भन्दै गम्भीरता पूर्वक लिएको जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर स्वास्थ्य सामग्री पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको विषय भन्दै खरिद प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेका छन् ।
प्रवक्ता शर्माले कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ गर्न नहुने जनाएका छन् ।
‘परीक्षण गर्ने केन्द्रहरू बिस्तार गरिनु सकारात्मक छ’, कांग्रेसले भनेको छ, ‘¥यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पीसीआर विधिको ब्यापकता बढाउन जरुरी छ ।’
‘नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरूमै कोरोना परीक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न ।’
‘राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरूलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘बेलायतबाट आएको २८ दिनपछि परीक्षण नेगेटिभ देखिनु तर, नेगेटिभ देखिएका ब्यक्तिहरूमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा विशेष रुपले गम्भीर विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कयौंलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ संगठनले केही अघिनै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ ।’
‘लक डाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करीब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए’, शर्माले भने, ‘प्रवेश गरेका मध्ये १५ प्रतिशतभन्दा कम मात्रै क्वारेन्टाइनमा बसे । बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने Asymptomatics रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ ।’
‘जस्तो कि धादिङमा संक्रमण देखिएका युवा ४० दिनअघि कोरियाबाट फर्किएको विवरण आएको छ’, शर्माले भनेका छन् ।
‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’को शैलीमा समुदाय समक्ष पुर्याउन अनिवार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ ।’
कांग्रेसले रौतहटमा संक्रमण देखिएका युवक लक डाउनको बेला पैदल हिंडेर नेपाल प्रवेश गरेको पुष्टि भएको भन्दै सरकारले नै ब्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने विषय बाहेक अब थप गम्भीरता नाकामा जरुरी भएको जनाएको छ ।
‘लक डाउनको समयमा पनि कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने नाका चाहे सुदूरपश्चिम कञ्चनपुरको महाकाली नगरपालिकासँग जोडिएका बनवासा, चक्रपुर या खटेमा होस् या सुदूरपूर्व मेची नगरपालिकाको नकलबन्दा, पाटापुर या सतिघट्टा होस् अथवा तराई–मधेस या हिमाल–पहाडको कुनैपनि नाका, नेपाल र नेपालीको रक्षाका लागि अब चौबीसै घण्टा विशेष सावधानीको अपील गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले लकडाउनको समयावधि थप गर्नुलाई स्वभाविक रूपमा लिएको जनाएको छ ।
‘लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लक डाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न’, शर्माले भनेका छन्, ‘लक डाउनका बावजुद कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिंदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन कांग्रेस सरकार समक्ष अपील गर्दछ ।’
‘कांग्रेसले मेडिकल सामग्रीको आयात एवं परीक्षणको दायरा बिस्तारमा थप गति र यस सम्बन्धि थप सतर्कताका लागि सरकार र समुदायको ध्यानाकर्षण गराउन र परिस्थितिको गम्भीरता बमोजिम गति बढाऔं भन्ने आग्रहमा केन्द्रित रहेको छ’, प्रवक्ता शर्माले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया