लकडाउनका बेला प्रधानमन्त्री र राष्ट्रपतिको जम्बो सचिवालय खारेज गर्न दवाव, भीभीआईपीलाई तनाब

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना भाइरसको संक्रमण समाप्त नहुँदासम्मको पारिश्रमिक नलिने घोषणा गरेका बेला उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की युवा नेतृ रामकुमारी झाँक्रीले ओलीलाई आफ्नो जम्बो सचिवालय खारेज गर्न सुझाब दिएकी छिन् ।

प्रतिनिधि सभाकी सांसद समेत रहेकी नेकपाकी नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीलाई सचिवालयका जम्बो सहयोगीहरू हटाउन सुझाब दिएकी हुन् । उनले प्रधानमन्त्री एकजनाको तलबभन्दा अनावश्यक सचिवालयमा बढी खर्च भइरहेको जनाएकी छिन् ।

उनले खर्च कटौती गर्नका लागि सचिवालयको आकार घटाउन ओलीलाई सुझाव दिएकी छिन् । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनासम्म तलब खाने व्यक्तिहरू राख्न मिल्ने व्यवस्था छ ।

नेकपाकी नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीलाई मात्रै नभई राष्ट्रपतिदेखि नेकपाको प्रमुख सचेतकसम्मले अनावश्यक रुपमा राखेका सचिवालयका सहयोगीहरू खारेज गर्न आग्रह गरेकी छिन् ।

‘सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरिसक्यौँ, अब प्रधानमन्त्रीले आफ्नो २–४ महिनाको तलब नलिएर राज्यमा राहत हुन्न’, मंगलबार सामाजिक सञ्जाल फेसबुकमा नेकपाकी नेतृ झाँक्रीले लेखेकी छन्, ‘प्रधानमन्त्रीको निजी सचिवालयमा मन्त्री सरहको सुबिधा खाने कति छन् ? करीब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने ब्यवस्था छ । त्यो पो खारेज गर्नपर्ने होला !?’

झाँक्रीले प्रधानमन्त्री ओलीले आफूले तलब नलिने घोषणा गर्नुभन्दा आफ्नो अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय लोकप्रिय हुने बताएकी छिन् । नेतृ झाँक्रीले पूर्वप्रधानमन्त्रीहरूले पाइरहेको अनावश्यक सचिवालय पनि हटाउन माग गरेकी छिन् ।

‘पूर्वप्रधानमन्त्रीहरूले गाडी, तेल, ड्राईभरसहित १२ जनासम्मको निजी सचिवालय पाउँछन्’, नेतृ झाँक्रीले प्रश्न गर्दै भनेकी छिन्, ‘यी होइन र हटाउन पर्ने ?’

उनले सरकारका मन्त्रालय र विभागसँग मिल्दा चरित्रका कार्यालयहरू यही मौकामा खारेज गर्न माग गरेकी छिन् । त्यसका लागि तीन–चार जानको विज्ञ समिति बनाउन माग झाँक्रीले ओलीलाई सुझाव दिएकी छिन् ।

उनले हरेक संकटमा अग्रभागमा खटिने सुरक्षाकर्मीको तलब कटाउनु गलत हुने बताएकी छिन् । झाँक्रीले कामपछि मामको ग्यारेन्टी गर्न समेत माग गरेकी छिन् ।

दर्जनौ ब्यक्ति (४८, ६५ र ७० जनासम्म) निजी सचिवालयमा राख्न पाउने, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, १२–१५ जनासम्म राख्न पाउने पूर्वप्रधानमन्त्री, पूर्व सभामूख, दलका नेताहरू, सभामुख, अध्यक्ष, प्रमुख सचेतक, सचेतक, समितिका सभापति, प्रधानन्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व उपप्रधानमन्त्री, पूर्वगृह मन्त्री, सुरक्षा निकायका पूर्वप्रमुखहरू, वर्तमान मन्त्रीको सचिवालय र सचिवहरूको दोहोरो सुविधा, सबै तहका सांसदले बाड्ने क्षेत्र विकास पूर्वाधार कार्यक्रम (छ करोडसम्म) राजनीतिक नियुक्तिमा दोहोरो सुबिधा लिएकाहरूको सुबिधा, यहि मौकामा कटौति गर्ने संस्थागत निर्णय गर्नु बुद्धीमानी काम हुने उनले बताएकी छिन् ।

‘सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरीसक्यौँ’, उनले भनेकी छिन्, ‘अब प्रधानमन्त्री ओलीले आफ्नो २–४ महिनाको तलब नलिएर राज्यमा राहत हुन्न ।’

‘प्रधानमन्त्री ओलीको निजी सचिवालयमा मन्त्री सरहको सुबिधा खाने कति छन् ?’, नेकपाकी नेतृ झाँक्रीले भनेकी छिन्, ‘करीब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने ब्यवस्था छ । त्यो पो खारेज गर्नपर्ने होला ?!’

‘दलको प्रमुख सचेतक, सचेतकले समेत ५, ८ र ९ जनासम्मको सचिवालय पाउँछन्’, उनले भनेकी छिन्, ‘पूर्वप्रधानमन्त्रीले गाडी, तेल, ड्राईभरसहित १२ जनासम्मको निजी सचिवालय पाउँछन्’, उनले भनेकी छिन्, ‘त्यसलाई हटाउनुपर्छ ।’

‘सरकारको मन्त्रालय र विभागसंग मिल्दो जुल्दो दोहोरो चरित्रका कार्यलय पनि यहि मौकामा खारेज गर्नुपछ’, नेकपाकी नेतृ झाँक्रीले भनेकी छिन्, ‘यही बीचमा २–३ जना विज्ञको समिति बनाएर यस्ता सुबिधा कटौती गर्ने प्ररस्तावको अध्यादेश सरकारले जारी गरोस् ।’

‘न कि रातदिन फ्रन्ट लाईनमा काम गर्ने सुरक्षाकर्मीको तलब कट्टी गर्ने निर्णय गलत हुन्छ’, उनले भनिन्, ‘काम गरेपछि दालभात त खान प¥यो नि ।’

‘कतिपयले सांसदको तलब काट्ने कुरा गरेका छन्’, नेकपाकी सांसद झाँक्रीले भनेकी छिन्, ‘सायद ठेक्कापट्टा गर्ने, चन्दा वा बिचौलिया काम गर्ने बाहेक अरू सांसदको तलब पनि नदिने हो भने काठमाडौंमा कसरी बाँच्ने ?’

‘सांसदले एउटा स्वकीय सचिव पाउँछ । जनतासंग जोडिने कामको लागि चाहिएको हो त्यो’, उनले भनेकी छिन्, ‘सबैको सुबिधा कटौती गर्दा सांसदको स्वकीय सचिवको सुबिधा पनि कटौती गर्न हुन्छ ?’

‘राष्ट्रिय आयले साधरण चालु खर्च धान्न नसक्ने अवस्थामा सिर्जना भएको यो संकटको घडीमा यसरी सरकारले साधरण चालु खर्चतर्फ हुने फजुल गर्न कटौती गर्न सक्छ’, उनले भनेकी छिन् ।

‘आठ पदाधिकारीहरूसहित फरक–फरक पदका ब्यक्तिहरूको सेवा र सुबिधा सम्वन्धि फरक–फरक कानूनमा यस्तो कानूनी ब्यवस्था छ’, नेकपाकी युवा नेतृ झाँक्रीले भनेकी छिन्, ‘मैले सामान्य नोट मात्र गरेको हुँ ।’

पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रभागमा छन् । उनीले सरकारी सेवा र सुविधा तथा सुरक्षाकर्मीहरू सबैले भन्दा धेरै लिएका छन् ।

ओली र प्रचण्डको दल नेकपाकी सांसद समेत रहेकी युवा नेतृ झाँक्रीको यो अभिव्यक्तिले बालुवाटार र खुमलटारलाई तनाब बढाइदिएको छ । ओलीले आफ्नो तलब दिने घोषणा गरेपनि प्रचण्डले त्यो पनि घोषणा गर्न सकेका छैनन् ।

Published : Tuesday, 2020 April 14, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया