कोरोना रोक्न खुट्टा नकमाउनुस् ओलीजी कांग्रेसले साथ दिन्छः देउवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरू भटाभट भेटिन थालेपछि प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच परामर्श भएको छ ।

बालुवाटारमा सोमबार ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक बोलाएका थिए । सोही बैठकमा ओली र देउवावीच कोरोना भाइरसको संक्रमण रोक्नका लागि सबै कदम उठाउने सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीसँगै अब वर्षातको मौसम आउनुपूर्वको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपहरूको पूर्व तयारीको योजना बनाउनुपर्ने बताएका थिए ।

सबै खाले प्रकोपहरूसँग जुध्न र जनधनको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने ओलीले बताएका छन् ।

कांग्रेस सभापति देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले अहिलेसम्म चालेका कदम सही भए पनि अझै बढी सक्रियता र सावधानीका साथ काम गर्न सुझाव दिएको परिषद् सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

कांग्रेस सभापति देउवाले कोरोना भाइरसको संक्रम रोक्नका लागि सबै प्रकारको सहयोग गर्न ओलीलाई आश्वासन दिएका थिए । वर्षातको समयमा हुने विपत्तिमा पनि कांग्रेसले सरकारलाई सहयोग गर्ने देउवाले आश्वासन दिएका छन् ।

‘कोरोना भाइरसको संक्रमण रोक्न सरकारले उठाउने सबै कदममा कांग्रेसको साथ रहन्छ’, देउवाले भने, ‘संकटको बेला सबै मिलेर समस्याको सामना गर्नुपर्छ । अरु कुरामा पछि बसह गरौँला ।’

परिषदमा सरकारका मन्त्रीहरू, सातै प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरू सदस्य रहने कानूनी व्यवस्था छ ।
लकडाउनका कारण सोमवारको बैठकमा मुख्यमन्त्रीहरू भने सहभागी थिएनन् ।

Published : Monday, 2020 April 13, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया