कांग्रेसका जोशीको संयोजकत्वमा राहत तथा आर्थिक प्याकेज अध्ययन समिति गठन

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको संक्रमणबाट अर्थतन्त्रमा परेको प्रभाव र सरकारले लिनुपर्ने अर्थनीतिबारे सुझाव दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको संयोजकत्वमा विज्ञहरू सम्मिलित अध्ययन समिति गठन गरेको छ ।

प्रतिष्ठानद्वारा सोमबार गठन गरिएको समितिले लकडाउनका बेला राहत वितरण, आर्थिक प्रवर्द्धनको प्याकेजको घोषणा, कोरोनाबाट प्रभावित क्षेत्रको अध्ययनका साथै सरकारले लिनुपर्ने आर्थिक नीतिबारेमा सुझाव दिनेछ ।

प्रतिष्ठानले गठन गरेको समितिमा संयोजक जोशीसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोख्रेल, प्रा. डा. गोविन्दराज पोख्रेल, डा.स्वर्णिम वाग्ले सदस्य छन् ।

आयोगका पूर्वसदस्य प्रा.डा.पुष्कर बज्राचार्य, डा.अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालयका प्रा.डा.विजया श्रेष्ठ, डा.दधि अधिकारी, नेपाल ट्रेड यूनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र उपप्राध्यापक वसन्ती आचार्य समितिको सदस्य छन् ।

समितिले कोरोना संक्रमणको कारणले सबैभन्दा बढि असर परेका भौगोलक क्षेत्र तथा पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि सुझाव पेश गर्ने संयोजक जोशीले बताए । जोशीका अनुसार वैशाख १ गतेदेखि समितिले काम शुरु गरेको र ३ हप्ताभित्र अध्ययन समाप्त गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

समितिले आवश्यक सल्लाह र सुझाव प्रदान दिन आमनगारिकलाई पनि आग्रह गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या लगातार बढि राख्दा नेपालमा संक्रमितको संख्या कम र स्थिर हुनु सन्तोषको विषय भएको पूर्वमन्त्री जोशीले बताए ।

‘संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दीको आर्थिक र सामाजिक प्रभाव भने उच्च संख्यामा संक्रमित भएका देशको जत्तिकै नेपालमा पनि परेको छ’, उनले भने, ‘विगत तीन हप्ता देखिको लकडाउनले आर्थिक गतिविधि लगभग शून्य छ । त्यसभन्दा अघिदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय उडान र अन्य निवारक क्रियाकलापले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका छन् ।’

उनले कोरोनाको कारणले गरिब र दैनिक ज्यालादारीमा जीवनयापन गर्ने व्यक्तिहरू प्रभावित भएकाले तत्काल उनीहरूका लागि राहत आवश्यक रहेको बताए ।

कोरोनाबाट पर्यटन, वैदेशिक रोजगार र उद्योग क्षेत्र प्रभावित भएको समिति संयोजक जोशीले बताए ।

‘पर्यटन आवागमनमा सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिदैन । उद्योग धन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ’, उनले भने, ‘यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट र उद्योग बन्द हुनेछन् ।’

Published : Monday, 2020 April 13, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया