कोरोनाको रोकथाममा हेलचेक्र्याइ गर्नु हुँदैन, ढिला नगरौंः विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना तथा सञ्चार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छिटो खरिद गर्न सरकारसँग अपील गरेका छन् ।
आइतबार फेसबुक लाइभमार्फत प्रवक्ता शर्माले यो वा त्यो बहानामा कुनै पनि ढिलाइ नगरी छिटोभन्दा छिटो गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गर्न आग्रह गरेका हुन् ।
‘मेडिकल सामग्री खरिद कसरी गर्ने भन्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘ती स्वास्थ्य सामग्रीहरू पारदर्शी रुपमा खरिद गरियोस् । गुणस्तीय र छिटो माध्यमबाट सामग्री खरिद गर्नुपर्छ ।’
कांग्रेसका प्रवक्ता शर्माले कोरोना भाइरसको संक्रमणले विश्वजगत त्रसित बनिरहेका बेला स्वास्थ्यकर्मीहरूलाई धम्किदिएर काम लगाउँछु भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।
‘स्वास्थ्यकर्मीहरूलाई पीपीई दिएर उच्च मनोबलका साथ काममा लगाउनुपर्छ’, उनले भने, ‘लडाइँमा पठाउँदा स्वास्थ्यकर्मीहरूलाई खालीहात पठाउनु हुँदैन ।’
प्रवक्ता शर्माले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि सरकारलाई आग्रह गरेका छन् । उनले अहिले सरकारबाट भइरहेको प्रयासको सह्राना गर्दै परीक्षणको दायरालाई अझै बढाउनुपर्ने बताए ।
शर्माले स्वास्थ्यकर्मीको सुरक्षा र सुरक्षाकर्मीको स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरेका छन् । सुरक्षाकर्मीहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने उनले बताए । कांग्रेसका प्रवक्ता शर्माले अरु रोगका बिरामीहरूको उपचारमा ध्यान दिन पनि आग्रह गरेका छन् ।
‘कोरोना आउनुभन्दा पनि पहिला पन िमान्छेहरूको मृत्यु हुने गरेको थियो । मान्छेको मृत्यु कोरोनाले मात्रै हुँदैन । अरु पनि रोगले हुन्छ’, उनले भने, ‘अन्य प्रकारका रोगीहरूलाई जाँच्नका लागि चिकित्सकहरू हच्किएका छन् ।’
‘डायलसिसका बिरामीलाई समस्या परेको छ । उनीहरूको विषयमा अलग व्यवस्था गर्नुपर्छ’, शर्माले भने । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने जनता समस्यामा परेको भन्दै कांग्रेसका प्रवक्ता शर्माले राहतका विषयमा ध्यानदिन जरुरी रहेको बताएका छन् ।
उनले दैनिक ज्याला मजदुरी गर्नेहरूको घरमा राहत जानुपर्ने बताएका छन् । स्थानीय सरकारले राहतका विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
‘हामी सबैले सहयोगी हातहरू अगाडि बढाउनुपर्छ’, उनले भने, ‘गाउँ वा शहर बजार नै किन नहोस् अति विपन्न परिवार र मजदुरहरूलाई भोकै मर्ने अवस्था सिर्जना हुन दिनु हुँदैन । आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ ।’
कोरोना भाइरसले विश्वभरि आफ्नो संक्रमण फैलाउँदै गर्दा नेपालको सरकारले कानमा तेल हालेर बसेको प्रशंग कोट्याउँदै कांग्रेसका प्रवक्ता शर्माले भने, ‘चीनबाट फैलिएको कोरोना भाइरसले विश्वमा संक्रमण फैलाउँदै थियो । तर, हाम्रा एकजना युवा मन्त्रीले नेपाललाई कोरोना भाइरस मुक्त देश घोषणा गराउन लाग्नुभएको थियो । सरकारले त्यस बेला किन कोरोनाविरुद्धको तयारी गर्न सकेन ? यो लापरबाही अहिले दोहोरिन दिनु हुँदैन ।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले दक्षिण कोरियामा रहेका नेपालीहरूले एनआरएनएमार्फत आफ्नो देशमा कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री पठाएकोमा धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया