अभिशाप मानिएको कोरोना भाइरसमाथि विजयी हासिल गर्नेछौँः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएको छ ।
सभापति शेरबहादुर देउवाले नयाँ वर्ष ०७७ सालको पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै सबै नेपालीहरूलाई शुभकामना दिएका हुन् । उनले नयाँ वर्षको शुभकामना दिँदै गर्दा कोरोना भाइरसको संक्रमणबाट एकताबद्ध भएर सहकार्य गर्न अपील पनि गरेका छन् ।
‘यति बेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको छ’, देउवाले भनेका छन्, ‘२०७६ सालको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित र एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको यो दुःखदायी घटना विश्वले व्यहोर्नु पर्यो ।’
‘कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान छ’, देउवाले भनेका छन् ।
‘नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसंभव सघाइरहेको छ’, देउवाले भनेका छन् ।
‘युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएको छ तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएको छ’, उनले भनेका छन् ।
‘विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण विरुद्ध सबै जना एकजुट भएर लड्न आवश्यक छ’, देउवाले शुभकामना सन्देशमा भनेका छन् ।
‘लकडाउनको पालना गर्न र समदुरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन म सबैमा आग्रह गर्दछु’, देउवाले भनेका छन् ।
‘नयाँ वर्ष २०७७ संसारकै लागि अभिशापको रुपमा रहेको कोराना भाइरसमाथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु’, कांग्रेसका सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया