काठमाडौंमै कम्युनिस्ट जनप्रतिनिधिले कुम्ल्याए राहत, बचाउमा उत्रिए मेयर खरेल

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ९ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडा सदस्यले गरिव जनतालाई वितरण गर्न राखिएको राहत कुम्ल्याएर घर लगेका छन् ।

वडा नम्बर ९ का वडा सदस्य पर्शुराम कार्कीले मजदुर र अति विपन्न परिवारलाई वितरण गर्न राखिएको ६ बोरा चामल आफैले घर लगेका हुन् । नेपाली कांग्रेस, नेकपा र स्थानीय सर्वसाधारणले विरोध गरेर हँगामा मच्चाएपछि माफी माग्दै वडा सदस्य कार्कीले चामलका बोरा फिर्ता गरेका छन् ।

वडा नम्बर ९ मा वडा कार्यालयले लकडाउनका कारण समस्यामा परेका ८–९ सय जना मजदुर र अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको थियो । वितरण गरेर बचेको खाद्य सामग्रीमध्येबाट नेकपाका वडा सदस्य कार्कीले ६ बोरा चामल वडा कार्यालयबाट लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।

सीसीटीभी फुटेज नेकपा र कांग्रेसका नेताहरूले पनि राखेका छन् । वडा सदस्य कार्कीले अति विपन्न परिवारलाई वितरण गर्न भनेर राखेको चामल घर लगेपछि वडा नम्बर ९ मा खैलाबैला भएको छ ।

राहत वितरण गरेर सकिएपछि ढिला गरेर आएका महिलाहरूले राहतको खाद्य सामग्री मागेका थिए । तर, वडा सदस्य कार्कीले फारम नभएको र अर्को दिन आउनुभनेर खालीहात फिर्ता पठाइदिएका थिए । त्यसपछि वडा सदस्य कार्कीको नियतमाथि शंका उठेको स्थानीय पीडितहरूले बताएका छन् ।

शुक्रबारका दिन वडा सदस्यले ६ बोरा चामल घर लगेको विषयमा वडा कार्यालयमा छलफल समेत भएको छ । छलफलका क्रममा वडा सदस्य कार्कीले चामल लगेको स्वीकार गर्दै आइन्दा यस्तो घटना नदोहोर्‍याउनेभन्दै माफी मागेका छन् ।

संकटको बेला कांग्रेस–कम्युनिस्ट नभनेर सिङ्गो देश लकडाउनमार्फत कोरोना भाइरसको संक्रमणविरुद्ध संघर्ष गरिरहेका बेला नेकपाका वडा सदस्यले मजदुर र अति विपन्न परिवारलाई वितरण गर्न राखिएको खाद्य सामग्री कुम्ल्याएपछि नेकपा र बुढानिलकण्ठका मेयर उद्धव खरेलमाथि गम्भीर प्रश्न उठेको छ ।

नेकपाबाट निर्वाचित मेयर खरेलले राहत सामग्री सुटुक्क घर लैजाने आफ्नै दलका वडा सदस्य कार्कीलाई कारबाही गर्छन् वा बचाउँछन् भनेर प्रश्न उठेको छ ।

मेयर खरेलले वडा नम्बर ९ का वडा सदस्य कार्कीले छ बोरा चामल लगेर खाएको भन्ने आरोपमा सत्यता नरहेको बताए । ‘वडा सदस्यले छ बोरा चामल लगेर फेरि फिर्ता गर्नुभएको छ । उहाँले मैले चामल लगेको हुँ फिर्ता गरेँ भनेर भन्नुभएको छ’, मेयर खरेलले भने, ‘चामल लगेर फिर्ता गरेपछि के को कारबाही ? कारबाही हुँदैन । सबै वडा सदस्यका घरमा चामलका बोरा छन् । सबैलाई कारबाही गर्ने त ?’

वडा नम्बर ९ का वडाध्यक्ष एवम् नेकपाका नेता राजेन्द्रप्रसाद सापकोटाले समेत राहतको खाद्य सामग्री घर लैजाने वडा सदस्य कार्कीलाई बचाउन सक्रिय भएको आरोप लागेको छ ।

तर, वडाध्यक्ष सापकोटाले केही कुराको गुनासोको रुपमा आएको स्वीकार गर्दै वडा सदस्य कार्कीका विषयमा खुलेर कुरा गर्न मानेनन् । उनले भने, ‘म राहत वितरण गर्न व्यस्त छु । यस विषयमा मलाई समय भएपछि कुरा गरौँला ।’ वडाध्यक्ष सापकाेटाले राहतका सामग्री वडा सदस्य कार्कीले घर लगेकाे स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेताहरूले लकडाउनका कारण समस्यामा परेका बेला मजदुर र अति विपन्न परिवारलाई वितरण गर्ने खाद्य सामग्री वडा सदस्यले आफ्नो घरमा लैजाने कुरा उचित नभएको बताएका छन् । उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।

नेकपाकै स्थानीय नेताहरूलाई पनि वडा नम्बर ९ मा वडा सदस्य कार्कीको हर्कत मन परेको छैन । नेकपाका स्थानीय नेताहरूबाट दवाव र आलोचना भएपछि कार्की पार्टीबाटै कारबाही गर्ने चर्चा पनि चलेको छ ।

तर, बुढानिकलण्ठका मेयर खरेलले नै वडा सदस्य कार्कीको बचाउमा लागेपछि राहत कुम्ल्याएको यो घटना ‘बालुवाटार जग्गा प्रकरण’ जस्तै हुने हो कि भनेर आशंका गरिएको छ । राहत कुम्ल्याउने वडा सदस्य कार्की नेकपामा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पाेखरेल निकटका मानिन्छन् ।

नेपाली कांग्रेसका नेताहरूलाई देशभरि राजनीतिक पूर्वाग्रह राखेर कम्युनिस्ट सरकारले राहत र सहायता वितरणमा अवरोध गर्दै आइरहेका बेला काठमाडौंमा नै नेकपाका जनप्रतिनिधिले राहतको खाद्य सामग्री आफै लगेर जगत हँसाएका छन् ।

सरकारले सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, संखुवासभामा दीपक खड्का, रसुवामा प्रदेश सांसदलाई कांग्रेस भनेर सहायता वितरणमा अबरोध गरिसकेको छ ।

Published : Sunday, 2020 April 12, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया