वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोनाको संक्रमण

वीरगञ्ज । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

वीरगञ्जबाट नमूना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमूना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडास्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिएका छन् ।

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरू रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

Published : Sunday, 2020 April 12, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया