कोरोनासँग जुध्न भारतमा २१ दिनको लक डाउन

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मंगलबार मध्यरातबाट २१ दिनको लक डाउन लागू गरेका छन् ।

मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश लक डाउन गरिएको छ ।

यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ ।

‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ’, मोदीले भनेका छन्, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ । त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला ।’

मोदीले पछिल्लो एक सातामा दोस्रोचोटि यस्तो सम्बोधन गरेका छन् । अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन ‘जनताको कर्फ्यू’ लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए ।

त्यसयता संक्रमण फैलिने क्रम जारी रहेपछि पूरै देश लक डाउन गरिएको छ । भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ भने १० जनाको मृत्यु भएको छ ।

Published : Tuesday, 2020 March 24, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया