सिरिसेको पुलबारे गलत समाचार आयो, जनताले लखेटेका होइनन्ः यज्ञराज सुनुवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको लिखु गाउँपालिकास्थित सिरिसेको पुल सञ्चालनका बेला आफूलाई स्थानीय जनताले नलखटेको बताएका छन् ।

रिपब्लिका दैनिक डटकमलाई सांसद सुनुवारका स्वकीय सचिव बलबहादुर दर्जीले खण्डन पठाएर समाचारको खण्डन गरेका हुन् ।

‘नेकपाका सांसदलाई ओखलढुंगामा झट्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे’ भन्ने समाचार प्रकाशित भएपछि सांसद सुनुवारले आफ्नो मानमर्दन र चिरित्र हत्या भएको जनाएका हुन् । सांसद सुनुवारले आफ्नाविरुद्ध गलत समाचार नदिन चेतावनी पनि दिएका छन् ।

‘समाचारले यज्ञराज सुनुवारको विषयमा लेखिएको कपोल्कल्पित र भ्रमक समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, खण्डनमा भनिएको छ, ‘यस समाचारले सांसद यज्ञराज सुनुवारको चरित्र हत्या र मानहानी भएको छ ।’

ओखलढुंगा र रामेछाप जोड्ने सिरिसे पुल अनुगमन गरी सुचारु गर्नका लागि सांसद सुनुवार, प्रदेश सांसद मोहनकुमार खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल, लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल, वडा नम्बर ८ का अध्यक्ष विशाल पौडेल, सडक डिभिजन खाल्टेका प्रमुख किरण कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सयौँको संख्यामा उपस्थिति जनसमुदायसहित अनुगमन गरी तत्काल यातायात सञ्चालन गर्न सकिने प्राविधिकहरूको मूल्यांकन पश्चात एक कार्यक्रमका वीच यातायात शुभारम्भ सञ्चालन भएको खण्डनमा उल्लेख छ ।

सो कुरालाई जनमानसलाई भ्रम छर्ने गरी समाचार छापेको भन्दै सांसद सुनुवारले आपत्ति जनाएका छन् ।

सांसद सुनुवारका स्वकीय सचिव दर्जीले नेकपाका नेता बालकृष्ण ढुंगेल, लिखु ८ का वडाध्यक्ष विशाल पौडेलले समेत कार्यक्रममा सम्बोधन गरेको तथ्य जनाएका छन् ।

Published : Thursday, 2020 March 19, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया