‘एमसीसी’लाई ओलीका पूर्व सल्लाहकारले ढाँटे

काठमाडौं । सरकारी सञ्चार माध्यम गोरखा पत्र संस्थानका सल्लाहाकार सम्पादक गोपाल खनालले गलत तथ्याङ्क दिएर मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) सञ्चालक समितिको सदस्यमा बसेको खुलासा भएको छ ।

एमसीसीको वेबसाइटमा राखिएको खनालबारेको जानकारीमा राजनीतिक शास्त्रमा विद्याबारिधी –पीएचडी) गरेको उल्लेख छ । अहिलेसम्म खनालले विद्याबारिधी नगरेको स्रोतले जनाएको छ ।

त्यसैगरी खनालले विगतमा आफूले प्रधानमन्त्री खड्गप्रसाद ओलीको वरिष्ठ परराष्ट्र मामिला विज्ञका रुपमा काम गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको परराष्ट्र मामिला विज्ञमा खनाल नियुक्त भएपनि त्यस बेला ‘वरिष्ठ’ भन्ने पद नै थिएन ।

खनाललाई प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेला परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्त भएका थिए ।

गोरखा पत्र संस्थानमा सल्लाहकार सम्पादकका रुपमा कार्यरत खनालले एमसीसीको पक्षमा लबिङ गर्दै आएका छन् । तर, सत्तारुढ नेकपाभित्र एमसीसीको अत्याधिक विरोध भइरहेको छ । नेकपाले एमसीसीको विषयमा दोहोरो भूमिका खेलेको भनेर आलोचना भइरहेका बेला नेकपा निकटका खनालका विषयमा रोचक प्रसंग बाहिर आएको छ ।

एमसीसीको भविष्य नेपालमा अन्यौल भइरहेका बेला खनालका विषयमा एमसीसीको वेबसाइटमा गलत तथ्याङ्क राखेको भन्दै नेकपाभित्र बबण्डर भएको छ ।

‘गोपाल खनालजीले राजनीति शास्त्रमा पीएचडी गरेको मलाई अहिलेसम्म कुनै जानकारी छैन । प्रधानमन्त्रीले वरिष्ठ परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्ति गरेको थाहा छैन । पराष्ट्र मामिला विज्ञका रुपमा मात्रै नियुक्त गरेको जस्तो लाग्छ’, एमसीसीको विरोध गर्दै आएका नेकपाका एकजना स्थायी समिति सदस्यले भने, ‘जिम्मेवार पदमा बसेको व्यक्तिले गलत तथ्याङ्क दिँदा नेकपाको बद्नाम हुन्छ ।’

वेबसाइटमा खनालले कान्तिपुर पब्लिकेशनमा काम गरेको उल्लेख गरिएको छ ।

Published : Tuesday, 2020 March 17, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया