अमेरिकामा कोरोना भाइरसको पहिलो खोप परीक्षण

न्युयोर्क । अमेरिकाले कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेको छ ।

सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयंसेवीहरूलाई सोमबार पहिलो भ्याक्सिन लगाइएको हो ।

अब छोटो समयमा बनाइएको खोपले उनीहरूमाथि देखाउने प्रतिक्रियाको अध्ययन गरिनेछ ।

‘अब हामी एउटा टिम हौं’, काइजर पर्मानेन्टेकी अध्ययन नेतृत्वकर्ता डा. लिसा ज्याकसनले परीक्षणभन्दा पहिला भनिन्, ‘आपतकालमा जसले जे गर्नसक्ने हो त्यो गर्न चाहिरहेका छन् ।’

एसोसियट प्रेस(एपी)ले आफ्नो समाचारमा एउटा सानो प्राविधिक कम्पनीमा काम गर्ने अपरेसन म्यानेजरले यसको पहिलो खोप लिएको जनाएको छ ।

खोप लगाएकी जेनिफर हलर नाम गरेकी ४३ वर्षीया ती महिलाले खोप लिनुपूर्व परीक्षणमा सहयोग गर्न पाउनुलाई अभूतपूर्व मौका भएको बताएकी छिन् ।

‘हामी सबै एकदमै असहाय महशुस गरिरहेका थियौं’, उनले भनेकी छिन्, ‘यो मेरो लागि केही गर्ने अभूतपूर्व मौका हो ।’

त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो । वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन् ।

सोमबारको परीक्षणले अब मानिसहरूमा ती खोपहरूको प्रयोग सुरक्षित र असरदार रहेनरहेको अध्ययन गर्ने बाटो खोलिदिएको छ ।

अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डा. एन्थोनी फिचीले बताएका छन् ।

Published : Tuesday, 2020 March 17, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया