नेकपाका पूर्वडनलाई पत्नीले छाडिन्, गुरु महेशसँग बोलचाल बन्द

काठमाडौं । २०६४ को चुनावमा तेस्रो शक्तिमा खुम्चिएको तत्कालीन एमाले निकट युवा संघले गठन गरेको युथ फोर्सका संयोजक महेश बस्नेतकै कारण सो पार्टी २०७० सालमा माओवादीभन्दा दुई गुणा शक्तिशाली भयो ।

महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरी देशभर वाईसीएलसँग टक्कर लिएपछि एमालेका कार्यकर्ताहरूको मनोबल उठेको विश्वास गरिन्छ । त्यही युथफोर्समा लडाकू भूमिका देखिएपछि महेश बस्नेतको राजनीतिमा उदय भयो ।

उनलाई केपी ओलीले दोस्रो संविधानसभामा भक्तपुरबाट पराजित भए पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनाइदिए ।

महेश बस्नेतको संरक्षण पाएपछि ‘डन’को आरोप लागेका कृष्ण बस्नेत उर्फ परशुराम बस्नेतलाई पनि राजनीतिक संरक्षण प्राप्त भएको थियो ।

महेश बस्नेतको छत्रछायाँमा रहेका परशुराम बस्नेतको पछिल्ला दिनमा उनीसँग सम्बन्ध बिग्रिएको छ ।

महेश बस्नेतसँग सम्बन्ध बिग्रिएकै पेरिफेरीमा परशुरामको घरबारमा पनि समस्या आएको छ । युवा संघका एक केन्द्रीय सदस्यका अनुसार परशुराम बस्नेतको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ ।

परशुरामसँग ठूलो रकम लिएर केही महिनाअघि श्रीमतीले सम्बन्धविच्छेद गरेको ती केन्द्रीय सदस्यले बताए । करीब पौने २ करोडकै कारोबार भएको स्रोतको दाबी छ ।

डनगिरी गरेको आरोप लागेका परशुराम बस्नेतलाई पत्रकार खिला ढकाललाई आक्रमण गरेको काण्डमा महेश बस्नेतले संरक्षण गरेका थिए ।

नेपाल पत्रकार महासंघले महिनौँ आन्दोलन गरी बस्नेतलाई कानूनी कारबाही गर्न माग गर्दा पनि प्रहरीले उनलाई पक्राउ नगर्नुमा महेशकै संरक्षण रहेको आरोप लागेको थियो ।

परशुराम बस्नेतमाथि स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले उनीहरूसँग ११ करोड ६१ लाख ४१ हजार १ सय ४७ रुपियाँ बिगो दाबी गरेको थियो । परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, सेयर, सवारी साधन र घरजग्गा जफत गर्न माग गरिएको थियो । तर, उनले विशेष अदालतबाट सफाइ पाएका थिए । (साँघु साप्ताहिकबाट साभार)

Published : Tuesday, 2020 March 17, 7:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया