कांग्रेस नेता गिरीले साेमबार कार्यकर्ताहरूसँग भेट गरेर दाङमै जन्मदिन मनाउँने

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेस पार्टी बलियो भयो भने मात्रै देश र जनताको रक्षा हुने बताएका छन् ।

नेता गिरीले लोकतन्त्र भनेकै नेपाली कांग्रेस भएको बताए । सोमबार जन्मदिन मनाउन आफ्नै गृहजिल्ला दाङ आइपुगेका गिरीले भने, ‘कांग्रेसमाथि प्रहार भइरहेको छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ ।’

कांग्रेसले नै राष्ट्रियताको संरक्षण गरेको उनले बताए । ‘यो राष्ट्रवादी सरकार आउनेवित्तिकै कालापानी, लिपुलेक भारतीय नक्साभित्र पर्‍यो’, उनले भने, ‘यसअघि पनि यो विवाद थियो । तर, भारतले केही गरेको थिएन । कम्युनिस्ट सरकार आउनेवित्तिकै नयाँ नक्सा जारी गरेर लिपुलेक र कालापानी भारतभित्र राख्ने कार्य भएको छ ।’

सिमानामा देखिएका विवादहरू कुटनीतिक पहल गरेर समाधान गर्नुपर्ने बताए । उनले कञ्चनपुर जिल्लामा देखिएको सिमाना विवादको विषयमा कम्युनिस्ट सरकारले ध्यान नदिएको बताए । नेता गिरीले भने, ‘कञ्चनपुरमा सीमा मिचिदा पनि यो सरकार बोल्न सकेन । स्थानीय जनता र हाम्रा पार्टीका साथीहरू गएर प्रतिकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

पूर्वमन्त्री समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य गिरीको सोमबार जन्मदिन परेको छ । उनले आफ्नो जन्मदिन दाङ जिल्लाबासी पार्टीका नेता तथा कार्यकर्ताहरूसँग मिलेर मनाउनेछन् ।

Published : Monday, 2020 March 16, 6:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया