कोरोनासँग जुध्न जर्मनीका सबै नेपालीबीच हातेमालो आवश्यक

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

जर्मनीमा पनि कोरोना संक्रमण देखिएको भन्दै संघले जर्मनीमा बसोबास गर्ने नेपालीलाई सतर्कता अपनाउन अपील गरेको हो ।

संघका सचिव सिजन दाहालले विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीबाट बच्न सबै नेपालीले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जर्मनीको एनआरडब्लु राज्यमा संक्रमण धेरै देखिन्छ र यो अझ बढ्ने क्रममा छ’, सचिव दाहालले विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले यस राज्यसहित जर्मनीमा बसोवास गरिरहनु भएको सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा आमाबुबाहरूलाई सतर्क रहन आग्रह गर्दछु ।’

‘तपाईहरू मध्ये कसैलाई यस भाइरस देखा परेमा हामी गैरआवासीय नेपाली संघ एनआर भे जर्मनी सधैं तपाईहरूको साथमा रहनेछ’, विज्ञप्तिमा भनिएको छ ।

उनले संक्रमित व्यक्तिलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘यो विषम परिस्थितिमा हामी सबै गैरआवासीय नेपालीहरू सामूहिक रुपमा एकले अर्कोलाई सहयोग गरी यो महामारी रोगसँग लड्नको निम्ति आह्वान पनि गर्दछु’, संघका सचिव दाहालले भनेका छन् ।

जर्मनीमा कोरोनाका कारण ७ जनाको ज्यान गइसकेको छ भने २७ सय ४७ जनामा संक्रमण देखिएकोछ ।

जर्मनीको एनआरडब्जु राज्यमा अन्यभन्दा बढी संक्रमित देखिएका छन् ।

विश्वभर ११० मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म पाँच हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा मात्र नभएर विश्व अर्थतन्त्र, पर्यटन, यातायातलगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।

विश्व स्वास्थ्य संघले विश्वव्यापीरुपमा आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ भने अमेरिकाले पनि कोरोनाकै कारण अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरिसकेको छ ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना संक्रमणले यतिबेला विश्व नै आतंकित बनेको छ ।

Published : Sunday, 2020 March 15, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया