कोलकाताबाट विदा भए अर्याल, काठमाडौं महानगरको जिम्मेवारी सम्हाल्ने

नयाँदिल्ली । भरतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निवर्तमान महावाणिज्यदूत एकनारायण अर्याललाई बिदाइ गरिएको छ ।

महावाणिज्य दूतका रूपमा अर्यालले उत्कृष्ट छाप छाडेको भन्दै बिदाइ समारोहमा उपस्थित कूटनीतिज्ञ तथा उद्योगी, व्यवसायीहरूले प्रशंसा गरेका थिए ।

नेपाल सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उनी महावाणिज्य दूतावासबाट बिदा भएका हुन् ।

बिदाइ कार्यक्रममा कोलकातास्थित नेपालको पारवहन र व्यापारसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरूले उनको समन्वयकारी भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।

अर्यालले आफ्नो कार्यकालमा नेपाल–भारत पारवहन तथा व्यापार प्रवर्द्धनमा द्रूत, पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धति बसाएका थिए ।

महावाणिज्यदूत नियुक्त हुनुअघि उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहँदा खाद्यान्नमा कालोबजारी गर्नेलाई कारबाही गरेका थिए ।

उनले न्यून गुणस्तरको खाद्य सामग्री बेचेर उपभोक्ता ठग्ने गरेको आरोपमा ठूला घरानाका व्यापारीहरूलाई समेत कारवाहीको दायरामा ल्याएका थिए ।

अर्यालले त्यतिबेला कारवाहीको दायरामा ल्याएकाहरूमाथिको मुद्दा अहिले पनि विचाराधीन छ ।

भारतको कोलकातामा नेपालका अलावा अमेरिका, बेलायत, फ्रान्स, जापान, रसिया लगायत १३ देशका महावाणिज्य दूतावास र अन्य ६२ देशका अवैतनिक महावाणिज्य दूतावास छन् ।

Published : Saturday, 2020 March 14, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया