कांग्रेस नेता खतिवडासहितको टोलीद्वारा पुलको अनुगमन
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका ओखलढुंगा कांग्रेसका नेताहरू निर्माणाधीन मान्द्रे दोभानको पुल स्थलगत अनुगमन गरेका छन् ।
ओखलढुंगामा शुक्रबार कांग्रेसका नेताहरूले मान्द्रे दोभान पुलको कामको प्रगति विवरणको जानकारी लिएका हुन् । पुल ०७१ सालभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीका कारण मान्द्रे दोभानको पुल तोकिएको समयमा पूरा हुन सकेको छैन ।
कांग्रेससहित स्थानीय जनताले पटक–पटक पुल निर्माणका लागि दवाव दिँदै आएका छन् । ६ वर्षदेखि अलपत्र मान्द्रो दोभानको पुल सर्वपक्षीय दबाबपछि निर्माण कार्यले तीव्रता पाएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले मान्द्रे दोभान पुलको काम पुनः अगाडि बढेकोमा आफूलाई खुसी लागेको बताए । उनले पुलको पिलर उठाउने काम धमाधम भइरहेको जानकारी दिए ।
‘अहिलेकै गतिमा काम अगाडि बढ्यो भने यो पुल आउँदो असार महिनाभित्र जसरी पनि सम्पन्न हुन्छ’, उनले भने, ‘हामी सबै जिल्लाबासीले पुल निर्माणको काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दवाव पनि दिनुपर्छ ।’
ओखलढुंगा जिल्लालाई पूर्वपश्चिम जोड्ने मोलुङ खोलाको मान्द्रे दोभानको पक्की पुल ०७१ सालमा सम्पन्न हुनुपर्ने थियो ।
पुल ठेक्का लिएको निर्माण कम्पनी राजेन्द्र लोकप्रिय जेभीको लापरवाहीले पुलको काम समयमा पूरा हुन नसकेको स्थानीयको आरोप छ ।
पुल निर्माणका लागि पिलर बनाउने क्रममा चट्टा भेटिएपछि डिजाइन फेरेर काम अगाडि बढाइएको थियो । यो पुलको लागत ५ करोड ६९ लाख २५ हजार पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया