बागमती खेलकुद परिषदले गर्‍यो राखेपलाई चक्मा दिने निर्णय, खेलाडी खुसी

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको छ ।

हेटौँडामा बसेको परिषदको बैठकले आफ्नो कार्यविधिलाई स्वीकृत गरेको हो । बैठक परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकासमन्त्री युवराज दुलालको अध्यक्षतामा बसेको थियो ।

परिषदले प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, एथेलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल र ब्याडमिन्टन गरी ८ खेलहरू समावेश गर्ने निर्णय गरेको छ ।

खेलकुद प्रतियोगिता सञ्चालन गर्ने क्लब तथा संघसंस्था अनुदान कार्यविधि २०७६ संशोधन गर्ने निर्णय पनि परिषदले गरेको छ ।

प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्दा जिल्ला खेलकुद विकास समितिका प्रत्येक कार्यालयलाई प्रतियोगिता सञ्चालनका लागि आठ लाख अनुदान दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेश खेलकुद प्रतियोगिता सञ्चालनको अनुमानित लागत आठ करोड रहेको तर परिषद्को चालु आर्थिक वर्षको स्वीकृत बजेट दुई करोड मात्र विनियोजन भएकोले अपुग ६ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्रोत सुनिश्चितता गरिएको आशयको पत्र सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएकाले बजेट बाँडफाँड गर्दा संलग्न ८ करोडको अनुमानित खर्च विवरणलाई स्वीकृत गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेशस्तरमा ठूलो धनराशिको खेलकुद प्रतियोगिता हुन लागेको नेपालमा पहिलो भएको बताए ।

प्रदेश खेलकुद विकास परिषदले प्रतियोगिताको क्रममा खेलाडी प्रशिक्षक तथा निर्णायकहरूले पाउने सुबिधाहरूमा पनि उल्लेख्य वृद्धि गरेको भण्डारीले बताए ।

खेलाडीले खेल अबधि भर खाना र बस्नको लागि दैनिक दुई हजारका दरले भत्ता पाउनेछन् । जब कि राष्ट्रिय खेलकुद परिषदले अहिले पनि १४०० दिने गरेको छ ।

प्रदेश खेलकुद बिकास परिषद्ले प्रतियोगिता अबधि भर खेलाडी घाइते भएमा पन्ध्र लाख सम्मको र मृत्यु भएमा ३० लाखको अनिवार्य बिमा गरिदिने भएको छ ।

यस्तो प्राबधान पनि पहिलोपटक प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशले सुरुवात गरेको हो ।

Published : Monday, 2020 March 2, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया