सत्तामा पुगेपछि प्रचण्ड र कम्युनिस्टले जनजाति भुलेः खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनजातिका नाममा राजनीति गरेर सत्तामा पुगेकाहरूलाई मगर समुदायको माग पूरा गर्न स्मरण गराएका छन् ।
नेपाल मगर संघ ओखलढुंगा काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले काठमाडौंको शहीद गेटमा नेपालका प्रथम शहीद लखन थापाको सालिक राख्नुपर्ने माग गरे ।
नेता खतिवडाले नेपालको एकीकरणमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘इतिहासका कालखण्डमा विदेशीसँग गरिएका लडाइँमा नेपालका मगरले गरेको योगदान होस्’, उनले भने, ‘नेपालको भूमिमा नेपाल बचाउन मगरहरूले गरेको योगदान होस्, नेपाल एकीकरण गर्न होस् कुनै जातको भन्दा कम छैन ।’
‘अहिले मगर समुदायकै मान्छेहरू सत्तामै पनि होलान् । तर हिजो मगर देख्यो मगरात, लिम्बु देखे लिम्बुवान भन्ने गरिन्थ्यो’, उनले भने, ‘अहिले काहिँ पनि मगरको नामबाट राज्य मिलेन, अन्याय भएको हो कि जस्तो लागेको छ ।’
तत्कालीन माओवादी र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै खतिवडाले जनजातिका नाममा राजनीति गरेर सत्तामा पुगेपछि भुल्ने बानीमा सुधार गर्न कम्युनिस्टहरूलाई सुझाव दिए ।
नेपाली कांग्रेसका नेता खतिवडाले ठूला राजनीतिक पार्टी भित्रभित्रै विभक्त भइरहेको बेला समुदायभित्र एकता झल्किने सन्देश प्रवाह हुनु राम्रो भएको बताए ।
गोरखा जिल्लामा लखन थापाको नाममा गाउँपालिकाको नाम राखेको प्रशंग पनि खतिवडाले उठाएका थिए । कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापाका परिवारलाई सम्मान गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया