पार्टीभित्र अफ्ठ्यारोमा परेपछि ओली कांग्रेस नेताको शरणमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दलका नेता डा.शेखर कोइरालासँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बिहीबार बिहान कांग्रेसका नेता डा.कोइरालासँग भेटवार्ता गरेका हुन् । ओली र डा.कोइरालावीच करीब डेढ घण्टा सम्वाद भएको थियो ।
प्रधानमन्त्री ओलीले दुई दिन अगाडि कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि देउवालाई भेटेका थिए ।
डा.कोइरालासँग ओलीले पार्टीभित्र कुनै भवितव्य परे या नयाँ राजनीतिक घटनाक्रम विकास भएमा कांग्रेसले सहयोग गरिदेओस् भन्ने संकेत गरेको जनाइएको छ ।
राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयलाई लिएर ओली धेरै चिन्तित भएको डा.कोइरालाले बताएका छन् ।
डा.कोइरालाले नेकपाभित्र आफूमाथि भइरहेको घेराबन्दीबाट ओली निकै तनावमा देखिएको आफूले पाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नाम नलिई ४–५ व्यापारीतर्फ लक्षित गर्दै अर्थमन्त्री डा.युवराज खतिवडालाई उनीहरूकै योजनामा हटाउने खेल भइरहेको बताएका थिए ।
डा.कोइरालाले भने, ‘प्रधानमन्त्रीले तीन चारजना बिजनेसम्यान छाडा भएका छन् भनेर भन्नुभयो । त्यस्ता बिजनेसम्यानका घरमै बसेर पार्टीकै नेताहरूले छलफल गरेको प्रति उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।’
राष्ट्रपतिबाट मनोनीतमध्येको रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने कि अर्थमन्त्री डा.खतिवडालाई निरन्तरता दिने भन्ने विषयले नेकपाभित्र विवाद छ ।
प्रधानमन्त्री ओली अर्थमन्त्री डा.खतिवडाका पक्षमा छन् । पार्टीका बहुमत नेताहरू उपाध्यक्ष गौतमका पक्षमा छन् ।
नेकपाभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला ओलीले कांग्रेसका नेतासँग परामर्श गरेका हुन् । ओलीले कांग्रेस नेता डा.कोइरालासँग भेट गरिएको विषयलाई रणनैतिक रुपमा हेरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया