डा.कोइरालाले गरे कांग्रेसलाई शक्तिशाली पार्टी बनाउने प्रतीज्ञा

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बनाउने लक्ष्य बोकेर हिडेकाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफूले बिश्राम नलिने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउन आफू जस्तोसुकै कठिन काम गर्न तयार रहेको बताए ।

सबै बिकृति हटाएर पार्टीलाई संस्थागत तरिकाले हिडाउने अभियानमा आफू लागेको बताउँदै डा.कोइरालाले भने, ‘गुट र भागबण्डाको राजनीतिले गर्दा पुस्तौनी आफ्नो सम्पूर्ण जीवन पार्टीका लागि लगानी गरेका त्यागी साथीहरूमाथी अन्यायको श्रृङ्खला बढ्दै गयो त्यसैले गर्दा पार्टी आज यो अवस्थामा पुग्यो ।’

डा.कोइरालेले पार्टीभित्र मूल्यांकनको परिपाटी अन्त्य भएको बताउँदै, १४औं महाधिवेशनपछि दुरदराजका निष्ठावान र ईमान्दार पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि न्याय हुने बताए ।

आफू सत्यको बाटोमा हिडेको बताउँदै डा.कोइरालाले जस्तोसुकै कठिन परिस्थिती आए पनि सत्यको बाटो नछोडी बिचलित नहुने बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले दुई कम्युनिष्ट पार्टी एक भएर मात्रै कांग्रेसको पराजय नभएको बताए । उनले कांग्रेसभित्रको अन्तर्घात पनि एक महत्वपूर्ण कारण रहेको बताए ।

जब–जब कांग्रेसको महाधिवेशन नजिकिँदै जान्छ, अनि क्रियाशील सदस्यताको मामिला पेचिलो बनेर आउने गरेको गिरीले बताए ।

‘जो व्यक्ति नेपाली कांग्रेसको बफादार कार्यकर्ता हो’, नेता गिरीले भने, ‘जसले कांग्रेसका लागि समय दिन्छ, जो पार्टीप्रति ईमानदार छ भने उसलाई क्रियाशील सदस्यता दिनुपर्छ ।’

केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा तीन थरी प्रवृति हावी भएको बताए । ‘पहिलो थरी कांग्रेसीहरू विधान कुल्चिने, विवेक प्रयोग नगर्ने र पार्टी कब्जा गर्न उद्दत छन्’, उनले भने, ‘दोस्रो थरी कांग्रेसीहरू यस्तो गर्दैनन्, तर भाण्डबण्डा पाउँदा यस्तो पहिलो थरीका कांग्रेसीलाई सहेर बस्छन् । तेस्रो थरी कांग्रेसी न्याय, समानता र निष्ठाका लागि लड्छन् । हामी तेस्रो धारको प्रतिनिधित्व गर्छौं ।’

Published : Sunday, 2020 February 23, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया