महिला पत्रकारहरूलाई टिकाई राख्न उचित मूल्य दिनुपर्छः पाेखरेल

काठमाडाैं । फोेटो पत्रकारिता बिधामाका कृयाशील महिला पत्रकारहरूले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको बताएका छन् ।

उनीहरूले अहिले पनि घर,परिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोले महिलाहरूको पत्रकारिता क्षेत्रमा सहभागिता कमी रहेको बताएका हुन् ।

काठमाडाैंमा शुक्रबार नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको कार्यक्रममा सहभागी फोटो पत्रकार प्रेरणा शाक्यले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पहिल्यै घरैबाट शुरु भएको संघर्ष कार्यस्थल र समाजमा पनि गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘महिलामैत्री वातावरण, उचित पारिश्रमिको अभावमा पत्रकारितामा महिला क्रियाशीलतामा कमी आएको छ ।’

पत्रकार उषा तिवारीले फोटो पत्रकारिता गर्दा आफ्नो लगानीसहित गर्नुपर्ने भएको र त्यो लगानी उठ्ने गरी पारिश्रमिक पाउन नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘फोटो पत्रकारिता जोखिमपूर्ण पेशा हो । लगानी धेरै भएपनि उचित पारिश्रमिक छैन ।’

नेपाल टेलिभिजनकी क्यामेरापर्सन ममता कोइरालाले सहअस्तित्वका लागि आफूहरू पत्रकारिता क्षेत्रमा कृयाशील भएको बताइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूलाई टिकाई राख्नका लागि श्रमको उचित मूल्य र सञ्चारसंस्थामा महिलामैत्री वातावरण आवश्यक हुने बताए ।

उपाध्यक्ष पोख्रेलले पत्रकारिता पेशा समाजीक उत्तरदायित्व सहितको चुनौतीपूर्ण काम भएकोले कानून र अन्य कुराले प्रेस स्वतन्त्रतामाथी हस्तक्षेप भए मान्य नहुने बताए ।

उनले भने, ‘फोटो पत्रकारिता गर्दा शुरूमै पत्रकार स्वयंले लगानी गरेर शुरू गर्नुपर्ने हुन्छ । त्यसकारण त्यो लगानी उठ्ने गरी फोटो पत्रकारले पारिश्रमिक पाउने प्राबधानको सुनिश्चितता आबश्यक पर्दछ ।’

पत्रकार महासंघले पत्रकारिता गर्नसक्ने बाताबरण निर्माण गर्न र श्रमको मूल्य सुनिश्चित गर्नका लागि आवाज उठाउँदै आएको चर्चा गर्दै पोख्रेलले भने, ‘कानून र व्यवहार दुबै रुपमा काम गर्ने वातावरण बनाउनु र श्रमको मूल्य सुनिश्चित गर्नु प्रथम दायित्व हो ।’

पत्रकारहरूको सीप क्षमता विकासका लागि पनि लगानी हुनुपर्नेमा बताउँदै उनले महासंघको तर्फबाट विधागत पत्रकारिताको प्रबद्र्धनमा विशेष चासो दिइदै आएको स्मरण गराए ।

‘प्रबिधिसहितको पत्रकारिता गर्ने महिला फोटो पत्रकारहरूको सुरक्षाको सवाललाई महासंघले विशेष ध्यान दिदै आएको छ’, पाेखरेलले भने ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारितामा चुनौति सहित अवसर पनि भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा महिला विभाग संयोजक लक्ष्मी पुनले महिला पत्रकारहरूलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्न नीतिगत, संस्थागत वा सीप क्षमता विकास कार्यक्रम ल्याउन आफूहरूले महासंघमा पहल गरिरहेको बताइन् ।

Published : Friday, 2020 February 21, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया