गैरे समाजद्वारा क्यान्सर पीडित पुनलाई चितवनमा चार लाख प्रदान
भरतपुर । सामाजिक सेवामा अग्रस्थानमा रहेको गैरे सेवा समाज चितवन–जापानले आफ्नो सहयोग हस्तान्तरण कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ समाजले क्यान्सर पीडित नन्दकली पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
गलकोट नगरपालिका वडा नम्बर २ बयली निवासी ५० वर्षीया क्यान्सर पीडित नन्दकली पुन बचाउ अभियानबाट जापानमा संकलित रकम हस्तानतरण गरिएको हो । पुनलाई ४ लाख ४२ हजार रुपियाँ उपलब्ध गराइएको समाजका सचिव गोविन्द गैरे र लक्ष्मण गैरेले जानकारी दिएका छन् ।
क्यान्सर पीडित पुनको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । उनको उपचारमा समस्या भएपछि ‘पुन बचाउ अभियान जापान’ले अभियान चलाएर रकम संकलन गरेको सह–कोषाध्यक्ष लक्ष्मण गैरेले बताए ।
गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले आर्थिक अभावका रहेकी पुनलाई रकम हस्तान्तरण गर्ने गैरे समाजलाई धन्यावाद दिए ।
गलकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिमबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रदत्त रेग्मी, नेपाली कांग्रेसका फविश्वर कँडेल लगायतले पनि गैरे सेवा समाजको प्रशंसा गरेका थिए । उनीहरूले विदेशमा बसेर पनि आफ्नो देशका गरिव दुःखीहरूको सेवामा सक्रिय भएको भन्दै प्रशंसा गरे ।
क्यान्सर पीडित पुनका लागि विभिन्न देशमा समेत आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।
हाल सम्म १५ लाख ८५ हजार १ सय १८ रुपियाँ सहयोग संकलन भएको सचिव गैरेले बताएका छन् ।
हङकङबाट ५ लाख ५१ हजार, अमेरिकाबाट ५१ हजार १ सय ४३, जापानबाट ४ लाख ४२ हजार कोरियाबाट ५० हजार फ्रान्सबाट २० हजार, नगर स्वास्थ्य केन्द्रबाट १ लाख र स्थानीय तथा नेपालबाट ३ लाख ७९ हजार ७५ रुपिया संकलन भैसकेको छ ।
०६८ सालमा स्थापना भएको गैरे सेवा समाज जापानले विकास निर्माण तथा सामाजिक कार्यक्रम सक्रिय रुपमा आर्थिक सहयोग गर्दै आएको छ ।
०७२ सालको भूकम्पमा प्रभावित बनेको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको गैरे सेवा समाज चितवन जापान नेपालका सचिव गैरेले जानकारी दिएका छन् ।
आर्थिक सहयोगका लागि गैरे सेवा समाज जापानबाट चेतराम गैरेको विशेष पहलमा सहयोग रकम संकलन गरिएको सचिव कुलप्रसाद गैरेले बताए ।
डिलाराम गैरे, डिलाराम निऊरे, मेघराज कुवँर र मिलन केसी लगायतले समेत सहयोग विशेष योगदान दिएको उनले बताए ।
सामान्य परिवारकी पुनले कात्तिक २१ गते स्वास्थ्य परीक्षण गर्दा घाँटीको क्यान्सर देखिएपछि उपचारका लागि समस्या भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम गैरे सेवा समाज चितवनका संरक्षक शालिकराम गैरेको अध्यक्षता र गैरे सेवा समाज चितवनका सदस्य विष्णु गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया