ओली सरकारकाे उपलब्धी सुनेर विमलेन्द्र निधिलाई हाँसाे उठ्याे

बागलुङ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट सरकार संघीयता र लोकतन्त्र विरोधी हुँदै गएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस बागलुङको क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सरकार संघीयताको सुदृढीकरण र लोकतन्त्रको रक्षाका लागि कुनै काम गर्न नसकेको बताए ।

दुई वर्षमा पनि सरकार संघीयताको सिद्धान्तअनुरुप चल्न नसकेको निधिले आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको आज दुई वर्ष पुगेको दिन’, निधिले भने, ‘मैले पनि के रैछ त प्रगति भनेर राम्रोसँग सुनेँ । उहाँको मुख्य प्रगति भनेको त दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्ने रैछ ।’

‘यो त निकै हाँसो लाग्दो प्रगति रहेछ’, उनले भने, ‘प्रधानमन्त्रीले आफू कुर्चीमा टिकिरहेको नै उपलब्ध ठान्नुहुन्छ भने जनता के को आशा गर्ने ।’

उपसभापति निधिले सरकारका उपलब्धी भनेको प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई निषेध गर्नु रहको बताए ।

उनले कांग्रेस मात्र लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएको बताएका छन् ।

‘पछिल्लो समयमा कम्युनिस्ट हामी लोकतन्त्रवादी हौँ भन्दै हिड्छन्’, उनले भने ।

निधिले आफ्ना कार्यकर्तालाई संघीयाताको सिद्धान्तअनुसार स्थानीय तहसम्म आफ्नो संगठनलाई बलियो बनाउन आग्रह गरेका थिए ।

Published : Sunday, 2020 February 16, 7:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया