जनता रोग र भोकले मर्न थालेका छन्, ओलीजी बाँसुरीको धनुमा मस्तः डा.डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला पन्त संग्रौलाले कम्युनिस्ट सरकारले यती समूहलाई देखाएको मोहका कारण देशकै बद्नाम भएको बताएकी छिन् ।
संसदको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद डा.संग्रौलाले भनिन्, ‘अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ ।’
‘नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ’, उनले भनेकी छिन्, ‘नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ ।’
‘पाँच अर्ब रूपियाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूहलाई किन दिइयो ?’, उनले प्रश्न गर्दै भनेकी छिन्, ‘पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपियाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ?’
‘यतीसँग सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको तात्पर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु’, उनले भनेकी छिन्, ‘पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।’
‘पूर्वीय सभ्यता र संस्कृतिको मूल थलो नेपालबाट अलि पर तत्कालीन रोम साम्राज्यतर्फ जाउँ । शासक थिए, निरो । निरोका अरू अपराधको खासै चर्चा छैन’, नेपाली कांग्रेसकी सांसद डा.संग्रौलाले भनिन्, ‘सन् ०६४ मा आदिम सभ्यता बोकेको रोममा ६ दिनसम्म भीषण आगलागी भयो । त्यो आगलागी ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’ भनेर अथ्र्याइएको छ ।’
‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो । कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला’, उनले भनेकी छिन्, ‘तर निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ ।’
‘चीनमा रहेका नेपालीहरू सरकारसँग उद्धारको याचना गरिरहेका छन्’, उनले भनिन्, ‘ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ ।’
‘विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ । चुरेदोहन उत्कर्षमा छ’, उनले भनिन्, ‘महँगी आकाशिएको छ । नागरिकको दैनिकी अस्तव्यस्त छ । तर, प्रधानमन्त्रीज्यू बाँधुरीको धुनमा मस्त हुनुहुन्छ ।’
‘प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला !’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया