घोराहीमा तरुणको प्रदर्शन, भ्रष्ट कम्युनिस्टहरूको छाती थर्कियो

घोराही । नेपाल तरुण दल दाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा प्रकरणको विषयमा राजनीतिक पूर्वाग्रही भएर निर्णयको विरोध गर्दै घोराहीमा प्रदर्शन गरेको छ ।

अख्तियारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूलाई उन्मुक्ति दिएको भन्दै तरुण दल दाङले आइतबार विरोध प्रदर्शन गरेको हो ।

राजनीतिक प्रतिशोधकै कारण नेपाली कांग्रेसका नेतालाई फसाउन खोजेको र नेकपाका कार्यकर्ताहरूलाई उनमुक्ति दिएको भन्दै सबैको सत्थतथ्य छानबिन हुनुपर्ने माग गरेका थिए ।

नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरू भएको विरोध ¥याली घोराही बजार परिक्रमा गरेर तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा सहभागीहरूले नेकपामा नेताहरू माधवकुमार नेपाल, विष्णु पौडेललाई सत्ताको आडको कारण उनमुक्ति दिएको तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई फसाउन लागेको बताएका थिए ।

बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले मुद्दा लगाउने निर्णय अख्तियारले गरेसँगै नेपाल तरूण दलले विरोध प्रदर्शनमा उत्रिनु परेको तरुण दल दाङका अध्यक्ष टीका घर्तीले बताए ।

कांग्रेसले जग्गा प्रकरणमा विजयकुमार गच्छदार दोषी देखिनु तर, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा नलगाइनुले राजनैतिक प्रतिशोध भएका कारण यसलाई सच्याउनुपर्ने अध्यक्ष घर्तीको भनाइ छ ।

नेपाल तरुण दल दाङका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने र नेपाल विद्यार्थी संघका तिलक रावतले आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको बताए ।

राजनीतिक प्रतिशोधका कारण नेपाली कांग्रेसलाई मात्र फसाउन खोजेका आरोप उनीहरूले लगाएका छन् । तरुण दल दाङका अध्यक्ष घर्तीको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

विरोध र्‍यालीमा ‘अख्तियार दुरूपयोग अनुसन्धान मुर्दावाद, अधिनायकवाद उन्मुख सरकार मुर्दावाद, बालुवाटार जग्गा प्रकरण निष्पक्ष छानबिन गर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद, नेपाल तरुण दल जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नाराहरू लगाएका थिए ।

Published : Monday, 2020 February 10, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया