काठमाडौंमा भू–माफियाद्वारा मुस्लिमहरूको जग्गा कब्जाको षड्यन्त्र
काठमाडौं । मुस्लिम आयोगसँग नेपाल मदनी मस्जिद व मुस्लिम मोसाफिरखाना संस्थाले काठमाडौं महानगरपालिका–२२, सुन्धारा पश्चिममा रहेको आफ्नो मस्जिदसहितको धार्मिक क्षेत्रलाई संरक्षण गरिदिन आग्रह गरेको छ ।
सो स्थानमा ६ आना १ पैसा क्षेत्रफलको सरकारी जग्गा एक सय वर्षभन्दा बढी समयदेखि मुस्लिम समुदायले भोगचलन गर्दै आएका छन् ।
जग्गा पछिल्लो दशकमा भूमाफियाले व्यक्तिगत दर्ता गरेर मुस्लिम समुदायलाई बलजफ्ती हटाउन लागेको भन्दै ती संस्थाले आयोगको ध्यानाकर्षण गराएका हुन् ।
मस्जिदका अध्यक्ष राज महमद अन्सारी नेतृत्वको टोलीले आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ ।
सरकारको नाममा रहेको जग्गा उपयोग गर्न २००० साल चैतमा खड्ग निशाना प्राप्त गरेको र खसी, राँगाको व्यापार गर्ने मुसलमानहरूलाई सधैं बस्न दिन २००१ वैशाख २७ मा पोता रजिस्ट्रेसन अड्डाको नाममा सनद जारी भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
मस्जिदका अध्यक्ष राज महमदले श्री ३ जुद्धशमशेरको पालामा पाएको जग्गा हाल आएर मस्जिद भत्काउन विभिन्न व्यक्ति सक्रिय रूपमा लागेको बताए ।
आयोगका अध्यक्ष अन्सारीले सुन्धाराको मस्जिद क्षेत्रको जग्गा समस्याबारे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसित कुराकानी गरेको बताएका छन् ।
आयोगले मस्जिदसहितको धार्मिक स्थलको संरक्षण गर्न पहल गर्ने आश्वासन अध्यक्ष अन्सारीले दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया