बालुवाटार जग्गा काण्डमा गगनले दिए नयाँ तर्क
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले निर्दोष कहिल्यै पनि दण्डित हुन नहुने भन्दै दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेता थापाले बिहीबार साँझ प्रेस नोट जारी गरेर भनेका छन्, ‘पात्र, परिस्थिति र सम्बन्ध हेरेर हाम्रो धारणा बन्दैन, बदलिँदैन र बदल्नुहुँदैन भन्नेमा म प्रस्ट छु ।’
‘नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेको छ’, उनले भनेका छन्, ‘उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ । सम्मानित अदालतले गर्ने निर्णय सवैले मान्नुपर्दछ ।’
‘सार्वजनिक सम्पत्ति बदनियत पूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन सक्दैन’, थापाले भनेका छन्, ‘यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने, उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन् । कानूनको अपव्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दुरासयपूर्ण छ ।’
‘सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र सोको लागि अनेकन् प्रपञ्च रच्ने व्यक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलको छोरा) र कुमार रेग्मीलाई आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ’, थापाले भनेका छन् ।
‘यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको छ’, उनले भनेका छन् ।
‘सम्मानित अदालतले यस प्रकरणमा अनुसन्धानले समेट्नुपर्ने तर नसमेटेका विषयलाई समेत दृष्टिगत गरी सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा नपरी संलग्न व्यक्तिहरूको पहुँच, अवस्था, आस्था र विचार नहेरी फैसला गर्नेछ भन्ने विश्वास छ’, नेपाली कांग्रेसका नेता थापाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया