जनताले बालुवाटारमा बाँसुरी फुक्न दुईतिहाइ दिएका हुन् ओलीज्यू ?
काठमाडौं । देशमा भ्रष्टाचार, महँगी, कालोबजारी, सरकारी जग्गा कब्जा, मूल्य वृद्धि नियन्त्रणदेखि निर्मला पन्तका दोषी पक्राउ पर्न नसकिरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गीतसँगीतमा रमाइलो गरेका छन् ।
बालुवाटारस्थित आफ्नै सरकारी निवासमा ओलीले सारंगी, बासुरी बजाएर रमाइलो गरेका छन् ।
प्याजको मूल्यले आकाश छोएको छ । लसुनको मूल्यको पनि उस्तै अवस्था छ । मुखमा लगाउने मास्कको मूल्य ह्वात्तै बढेको छ । तरकारीको भाउ उस्तै छ ।
उत्तरी छिमेकी मुलुक चीनमा फैलिएको नोबेल कोरोना भाइरसका कारण त्रासमा रहेका नेपालीहरूलाई उद्धारका लागि आफन्तले गुहारी रहेका छन् । उद्धारमा सरकारले आलटाल गरिरहेको छ ।
बालुवाटारमा भने ओलीले पूर्वएमालेका नेताहरूलाई राखेर रंगीन साँझहरू बिताइरहेका छन् ।
पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर ओलीले मंगलबार साँझ बाँसुरी बजाएका छन् ।
ओलीको यो कार्यलाई सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचकहरूले सामाजिक सञ्जालमा ‘रोम जलिरहेको छ, निरोले बाँसुरी बजाइरहेको छ’ भनेर समेट टिप्पणी गर्न भ्याएका छन् ।
ओली, खनाल र नेपालको यो कार्यको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली पिटेर साथ दिएका छन् ।
मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई जोडीसहित आउन निम्ता दिएका थिए ।
सचिवालय सदस्यहरू र २५ जना सम्पादक कार्यक्रममा सहभागी थिए ।
कार्यक्रम सञ्चालक दिनेश डिसीले प्रधानमन्त्री ओलीलाई मञ्चमा बोलाएर बाँसुरी बाजाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले माघ १९ गते साँझ पनि बालुवाटारमा केन्द्रीय सदस्य र सांसदलाई भोज खुवाएका थिए । त्यो कार्यक्रम पनि संगीतमय बनेको थियो ।
ओलीको मंगलबारको कार्यक्रममा भने नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् । प्रचण्ड जानबुझिकन सहभागी नभएको पूर्वमाओवादी निकटका एक नेताले बताएका छन् ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण एक महिनाअघि दुई सय ४५ रुपियाँ किलोको लसुनको भाउ अहिले पाँच सय ५५ रुपियाँमा किनबेच भएको छ ।
छोटो समयमा नै लसुनको भाउ दोब्बरले बढन पुगेको छ । पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको भाउ दोब्बरभन्दा बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
माक्सको मूल्य पनि बढेको छ । यसअघि खुद्रा बजारमा पाँच सय रुपियाँ प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलमै आठ सय रुपियाँ नाघेको औषधि व्यवसायी बताउँछन् ।
चीनमा फैलिएको कोरोना भाइरस लसुन र माक्सको भाउ अकासिएको व्यवसायीहरू बताउँछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया