डा.ब्रोडरिकले कोरोना भाइरसको खोप बनाएकाे दाबी

काठमाडौं । स्कटल्याण्डकी महिला वैज्ञानिक डा.केट ब्रोडरिक घातक नोबल कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्न अनुसन्धानमा जुटेकी छिन् ।

डा.केट ब्रोडरिक कोरोना भाइरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको समाचारमा जनाइएको छ ।

द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन् । उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन् ।

ब्रोडरिक करीब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन् । यसअघि उनी इबोला, जीका जस्ताभयानक रोगविरुद्ध औषधि बनाउन सफल भएकी थिइन् ।

अहिले उनी फेरि कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन् । उनले खोप तयार गरिसकेकी छिन् । मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ । उनले भनेकी छिन, ‘आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भाइरसबाट बच्न खोप बनाउँदैछु ।’

डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन् । अनुसन्धानका लागि उनको एउटा टोली छ । ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं’, उनले भनेकी छिन् ।

दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन् ।

चिनियाँ अधिकारीले कोरोना भाइरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घण्टाभित्र खोप तयार पारेको बताएकी छिन् ।

उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो । डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो ।

Published : Wednesday, 2020 February 5, 7:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया