लामाे समयपछि एउटै मन्चमा देखिए देउवा, डा.काेइराला र खाँण

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर कम्युनिस्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको १३औं दिनको पूण्यतिथिमा शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सभापति देउवाले जनताको अधिकार खोसेर लोकतान्त्रिक मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विधेयकहरू ल्याएको बताए ।

उनले कम्युनिस्ट अधिनायकवादका विरुद्ध संघर्ष गर्ने बेला आएको समेत बताए ।

सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन जनाएका छन् ।

उनले अधिनायकवादको बाटोमा अघि बढेको कम्युनिष्ट सरकारविरुद्ध प्रजातान्त्रिक शक्तिहरू एक भएर अगाडि बढनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले लोकतन्त्रका लागि कांग्रेस सधैं अगाडि रहने बताए । उनले नेपाली कांग्रेसले मात्रै जनताका अधिकारको रक्षा गर्नेभन्दै कम्युनिस्ट अधिनायकवादलाई स्वीकार नगर्ने उल्लेख गरे ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले देश र जनताको हितमा कुनैपनि काम गर्न नसकेको आरोप लगाए ।

कम्युनिस्ट निरंकुश बन्न खोजेको भन्दै खाँणले कुनै पनि प्रकारको अधिनायकवादलाई कांग्रेसले परास्त गर्ने बताए ।

लामो समयपछि नेपाली कांग्रेसका सभापति देउवा र महामन्त्री डा.शशांक कोइराला एउटै मञ्चमा देखिएका छन् । मञ्चमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण पनि रहेका थिए ।

Published : Saturday, 2020 February 1, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया