हुम्लाका जनताको उपचार गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशको हुम्ला जिल्लामा उचित औषधि उपचारका कारण धेरै सर्वसाधारणले ज्यान गुमाउनुका साथै प्रभावित भएको भन्दै तत्काल उपचार र उद्धारका लागि सरकारसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गरेर हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी (फ्लु) का कारण एक दर्जनभन्दा बढी मानिसहरूले अकालमा नै ज्यान गुमाउनु परेको भन्दै चिन्ता जनाए ।

‘विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएको कारण र सो फ्लुबाट प्रभावित व्यक्तिहरूको समयमै उचित उपचार नहुँदा हुम्लावासीहरूले ज्यान गुमाउन परिरहेको अवस्थालाई मध्यनजर गर्दै पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘मौसमी फ्लुको प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिहरुको उपचारका लाागि विशेष व्यवस्था गर्न नेपाली कांग्रेस संसदीय दल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तह समक्ष हार्दिक आग्रह गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

Published : Thursday, 2020 January 30, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया